काठमाडौं । साहित्यकारहरुले महाकवि लक्ष्मीप्रसाद देवकाटा संग्रहालयलाई साहित्यको अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्न सुझाएका छन् ।
काठमाडौंको मैतीदेवीस्थित देवकोटाको पूरानो घरलाई संग्रहालयको रूपमा विकास गरिएको छ । देवकोटाको १ सय १७औं जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा स्रष्टाहरूले देवकोटाका कृतिहरूलाई नयाँ पीढीमाझ पुर्याउनुपर्ने पनि सुझाव दिए ।
काठमाडौंको मैतीदेवीस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयको अवलोकन तथा देवकोटाका साहित्यहरूबारे बुझ्न सातामा ५ सयको हाराहारीमा स्कुल तथा कलेजका विद्यार्थी र साहित्य अनुरागीहरू आउने गरेका छन् ।
नि:शुल्क अवलोकनको व्यवस्था गरिएकोमा आगामी वर्षदेखि शुल्क लिने तयारी संग्रहालयले गरेको छ । यसलाई साहित्य अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आवश्यक रहेको देवकोटाकी छोरी अम्बिका देवी रिमाल बताउनुहुन्छ ।
यस्तै देवकोटाका कृतिहरू डिजिटल प्रविधिबाट सजिलै पढ्न पाउने व्यवस्था गर्न र संग्रहालयलाई युवापुस्तामाझ बढीभन्दा प्रचारमा ल्याउनुपर्नेमा पनि जोड दिइएको छ । कार्यक्रममा स्रस्टाहरूले देवकोटाका जनालाई नयाँ पुस्ताले पनि अनुशरण गर्नुपर्ने बताए ।
काठमाडौंको मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुरानो घरलाई २०७९ सालमा संग्रहालयको रूपमा स्थापना गरिएको हो । घरको प्राङ्गण प्रवेश गर्ने बित्तिकै देवकोटाले रचेका कविताको हरफले साहित्यिक माहोल बनाइदिन्छ ।
संग्रहालयमा देवकोटाका पोशाक तथा भाँडाकुडादेखि उहाँले रचना गर्नुभएका करिब एक सयवटा कृतिहरूको संगालो संग्रहित छन् ।