जयदेव भट्टराईको नमन सार्वजनिक

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
जयदेव भट्टराईको नमन सार्वजनिक

ललितपुर । साहित्यकार जयदेव भट्टराईको नयाँ कृति नमन सार्वजनिक भएको छ । आरब्धले ललितपुरमा आयोजना गरेको विशेष समारोहमा साहित्य, कला र संगीत क्षेत्रका विशिष्ट व्यक्तिहरुले सामुहिक रुपमा संस्मरणात्मक शब्दचित्र कृति नमनको विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्वकुलपति केके कर्माचार्य, पहिलो नेपाली कलाकार उर्मिला गर्ग उपाध्याय, वनस्पतिविद् डा तीर्थबहादुर श्रेष्ठ, वरिष्ठ गायिका नूपुर भट्टाचार्य, प्रथम नायिका भूवन चन्द, प्रसिद्ध सितारबाधक विजया शर्मा, रंगकर्मी शकुन्तला शर्मा, अग्रज शंकरनाथ रिमालले भट्टराईको नयाँ कृति नमन को सार्वजनिकरण गरे ।

कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न विधाका व्यक्तिहरुलाई शब्दमा उतारेर जयदेवले उत्कृष्ट कार्य गरेको बताउनु भयो । उहाँले जयदेवले स्रष्टालाई आम सञ्चारमा ल्याउने काम गरेको प्रष्ट पार्नुभयो । यसैगरि प्राडा लक्ष्मण गौतमले आआफ्ना क्षेत्रका विशिष्ट ३९ जना साधकहरुबारे निबन्धात्मक शैलीमा जयदेवले लेखेको उल्लेख गर्दै यस कृति अनुनन्धान गर्नेहरुका लागि उपयोगी हुने धारणा राख्नुभयो ।

लेखक जयदेव भट्टराईले साहित्य सेवालाई आफुले स्वभावको रुपमा विकास गरेको बताउनुभयो । उहाँले पारिवारिक पृष्ठभूमी र लेखक कविप्रतिको आफ्नो आकर्षणका कारण आफु साहित्यमा लागेको पनि प्रष्ट पार्नुभयो ।

भट्टराईको लेखन र सम्पादनमा १६ वटा कृति प्रकाशित भएका छन् । लामो समय मधुपर्क मासिकका सम्पादक रहनु भएका उहाँ पछिल्लो समय आरब्ध द्वैमासिकका सम्पादक हुनुहुन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.