भरिभराउ नाटकघर, रंगकर्मीको खल्ती भरिने कहिले ?

श्रावण ४, २०८१ |अवतार राई
भरिभराउ नाटकघर, रंगकर्मीको खल्ती भरिने कहिले ?

काठमाडौं । पछिल्लो समय मौलिक कथामा आधारित नाटक राजधानीलगायत देशका धेरै थिएटरमा प्रदर्शन हुन थालेसँगै दर्शकको चासो बढ्न थालेको छ । विगतमा विशेष अवसर पारेर फाट्टफुट्ट नाटक प्रदर्शन हुन्थे, तर आजभोलि प्राय: थिएटर खाली हुँदैनन् । दर्शकसमेत समय मिलाएर नाटक हेर्न पुग्ने गरेका छन् । तर नाटकमा सक्रिय सयौं रंगकर्मी भने अझै व्यावसायिक रुपमा टिक्न सक्ने अवस्था नरहेको बताउँछन् ।

संघीय राजधानीमा रहेका चारवटा नाटक प्रदर्शनकै लागि बनाइएका थिएटर आजभोलि खाली हुँदैनन् । सबै थिएटरमा नाटक प्रदर्शन भइरहेका छन् । बिदाको दिनमा त नाटक घरमा टिकट पाउनै मुस्किल हुन्छ । अरु समयमा समेत नाटकघरसम्म दर्शक पुगेकै हुन्छन् । कतिपय नाटक विदेशी कथा अनुवाद गरिएका छन् भने कतिपय नेपाली मौलिक संस्कृतिमा आधारित छन् ।

(सुनौं निर्देशक टंक चौलागाईसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।)

पात्र, संवाद र विषयवस्तुमा नयाँ रंगकर्मीले बढी मिहिनेत गरिरहेको भेटिन्छ । नाटकमा आफ्नो भूमिका अब्बल बनाउन नयाँ पुस्ता नै अग्रसर देखिन्छन् । मौलिक प्रस्तुति, मिथकमा आधारित कथामा नयाँ पुस्तालाई निखार्न कत्तिको सहज छ त ?

रंगकर्ममा धेरै समय गुजारिसकेकाहरु आजको रंगकर्ममा दर्शकको आकर्षण र नयाँ रंगकर्मीहरुले देखाएको रुचिबाट दंग छन् । तर अझै व्यावसायिक पक्ष भने सन्तोषजनक नरहेको रंगकर्मी सुनील पोखरेल बताउनुहुन्छ ।

प्रविधिसँगै बदलिएको विश्वमा आज स्वदेश तथा विदेशी भाषामा बनाइएका चलचित्रमा चासो र रुचि बढाउनेहरु पनि उत्तिकै छन् । तर दर्शकको चाहना र रुचिअनुसारका चलचित्र कमै मात्र बन्ने गरेकाले त्यतातर्फ भने जति दर्शक पुग्न सकेका छैनन् । बरु मौलिक तथा वास्तविक कथामा बनेका नाटकमा दर्शकले देखाएको चासो बढ्दो छ । यसले रंगमञ्च थप रंगीन बन्दै गएको देखिन्छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।