काठमाडौं । नेपाल स्रष्टा समाजले योगमाया दिवसको अवसर पारेर ‘योगमाया’का नामका सम्मान प्रदान गरेको छ । योगमायाको व्यक्तित्व परिचित गर्न अभियान सञ्चालन गर्ने अभियन्ता कविता चापागाईंलाई 'योगमाया अभियन्ता सम्मान २०८१' ले सम्मान गरेको हो । यसैगरी समाज रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने शान्ता चौधरीलाई 'योगमाया राष्ट्रिय नारी सम्मान २०८१' द्धारा सम्मानित गरिएको छ ।
सोही अवसरमा स्रष्टा दर्पणको पनि लोकार्पण भएको छ । उक्त स्मृति अङ्कमा ४२ जना विभिन्न साहित्यकार, स्रष्टाहरुले विभिन्न समयमा बरिष्ठ आख्यानकार स्व.परशु प्रधानका बारेमा लेखेका संस्मरण, समीक्षा, अन्तर्वार्ता आदि संग्रहित छन् ।
कार्यक्रममा सम्मानित चापागाईंले योगमायाको योगदानको चर्चा गर्दै नेपालको पाठ्यक्रममा संलग्न उहाँका बारेमा भ्रम उत्पन्न हुने खालको अपूरो विषय राखिएकोले त्यसको बारेमा सोच्न जरुरी भएको बताउनुभयो । उहाँले योगमायाका विवाह, बालविधवा जस्ता विषयमा पनि भ्रम छरिएको हुँदा सबैले सत्य के हो बुझ्न जरुरी हुने बताउनुभयो ।
अर्का सम्मानित व्यक्ति चौधरीले आफूले सानै उमेरदेखि कम्लरीको रुपमा जमिन्दारको घरमा बेहोर्नुपरेको दुःख सुनाउनुभयो । पुरस्कार कम्लरी प्रथाबाट दु:ख पाएका महिलाहरुको निम्ति खर्चने पनि उहाँले घोषणा गर्नुभयो ।