काठमाडौै । संगीत क्षेत्रको प्रतिष्ठित अवार्ड ‘नेसनल म्युजिक अवाड्र्स २०८१’ (एनएमए) ले पहिलो पटक दर्शकलाई समेत समावेश गराउदै अवार्डसहित सांगीतिक कन्सर्ट गर्ने भएको छ । रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रममा यसपालि युवा पुस्ताका चर्चित १० कलाकारले एउटै मञ्चमा साँगीतिक प्रस्तुति दिँदै छन् ।
ललितपुरको गोदावरी नगरपालीका-४ मा रहेको गोदावरी सनराइज सम्मेलन केन्द्रमा २८ असारमा हुने कार्यक्रममा पहिलो पटक कुमा सागर र दुर्गेश थापाले एकसाथ भव्य प्रस्तुति दिने भएका छन् । यी दुईको प्रस्तुतिको अलवा युवा गायकहरू स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान र पशुपति शर्माका साथै कार्टुन क्रु, सुन्दर खनाल र सुजिता श्रेष्ठको विशेष प्रस्तुति रहनेछ ।
कार्यक्रममा ३ हजारभन्दा बढी दर्शकको अपेक्षा गरिएको आयोजकको भनाइ छ । सहभागी हुन सर्वसाधारणका लागि १५ सय र भीआईपीका लागि ५ हजार रुपैयाँका टिकट छन् । कार्यक्रममा १४ विधामा अवार्ड वितरण गरिनेछ । यस्तै दीर्घ साधना सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) बाट संगीत क्षेत्रमा जीवनभर लामो समयसम्म योगदान दिएका कलाकारलाई पुरस्कृत गरिनेछ । गत वर्ष पपसम्राट ओमविक्रम विष्टलाई यो सम्मान दिइएको थियो । ओमले आफ्ना कालजयी गीतमार्फत दर्शक झुमाएका थिए ।
रेडियो कान्तिपुर संगीतको विकासमा क्रियाशील भएकाले संगीत क्षेत्रको प्रवद्र्धन गर्न नेसनल म्युजिक अवाड्र्स गर्दै आइरहेको हो । रेडियो कान्तिपुरले शुक्रबार पत्रकार सम्मेलन गरी शीर्ष पाँच मनोनयन सार्वजनिक गर्दै छ । वर्षभरि प्रदर्शनमा आएका गीतबाट विभिन्न विधामा मनोनयन सार्वजनिक गर्ने बताइएको छ ।
कार्यक्रममा सहभागी हुन इच्छुक दर्शकले ईसेवाबाट टिकट खरिद गर्न सक्नेछन् ।