काठमाडौं । रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड नेशनल म्युजिक अवार्ड्सको आठाैँ संस्करणअन्तर्गत मनोनयनमा पर्ने कलाकार र सिर्जनाहरुको सूची सार्वजनिक भएको छ ।
यसपटक १४ विभिन्न विधामा अवार्ड वितरण हुने जनाएको रेडियो कान्तिपुरले कार्यक्रम समारोह हुनु एक साताअघि नोमिनेशन सार्वजनिक गरेको हो ।
नोमिनेशनमा चर्चित कलाकारद्वय कुम सागर र सुशान्त केसी सर्वाधिक २-२ विधामा मनोनयनमा परेका छन् । हरेक विधामा ५ जना स्रष्टा, कलाकार वा सिर्जना मनोनयमा परेका छन्।
रेडियो कान्तिपुरकाअनुसार यसपटक हिपहप र आरएनबी संगीतलाई समट्ने विधा पनि थप गरिएको छ । नोमिनेशको पूरा सूची रेडियो कान्तिपुरमा सुन्न र कान्तिपुर मिडिया ग्रुपका विभिन्न डिजिटल प्लाटफर्ममा हेर्न सकिनेछ। रेडियो कान्तिपुरले हरेक वर्ष आयोजना गर्दै आएको यो कार्यक्रममा यसपालि युवा पुस्ताका चर्चित १० कलाकारले एउटै मञ्चमा प्रस्तुति दिने छन् ।
गोदावरीको सनराइज सम्मेलन केन्द्रमा हुने अवार्ड समारोहमा गायकहरू कुम सागर, दुर्गेश थापा, स्वप्न सुमन, सुशान्त घिमिरे, वाङ्देन शेर्पा, अस्मिता अधिकारी, एलिना चौहान र पशुपति शर्माका साथै कार्टुन क्रुजको प्रस्तुति रहने छ ।
कलकारहरू सुन्दर खनाल र सुजिता श्रेष्ठले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा दीर्घ साधना सम्मान अर्थात् लाइफटाइम अचिभमेन्ट अवार्डबाट संगीत क्षेत्रमा जीवनभर लामो समयसम्म योगदान दिएका कलाकारलाई सम्मानित गरिनेछ ।
अवार्डका अघिल्ला संस्करणमा रेडियो कान्तिपुरमा वर्षभरी बजेको गीतमध्येबाट अवार्ड दिईँदै आएकोमा यसपटक दुई तहका निर्णायक राखेर रेडियोमा प्रसारण भएका बाहेकका गीतसंगीतलाई पनि समेटिएको छ । अवार्डको सातौं संस्करण यसपटक आउने असार २८ गते ललितपुरको गोदावरीमा आयोजना हुँदैछ।
यसपटक अवार्ड समारोहमा दर्शक तथा स्रोताले टिकट काटेर सहभागिता जनाउन पाउनेछन्। दर्शकले अवार्ड समारोहसहित कन्सर्टको पनि मज्जा लिन पाउने छन् । कार्यक्रममा सहभागी ईसेवाबाट टिकट खरिद गर्न सकिनेछ ।
यस्तो छ नोमिनेशको सूची