अर्थशास्त्री मीना आर्चायको अटोबायोग्राफी 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक

असार २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्थशास्त्री मीना आर्चायको अटोबायोग्राफी 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक

काठमाडौं । अर्थशास्त्री मिना आचार्यको बाल्यकालदेखि हालसम्मको भोगाइ, संघर्ष र अनुभव समेटिएको अटोबायोग्राफी 'स्वतन्त्रता र समानताको निरन्तर यात्रा' सार्वजनिक भएको छ ।

आज काठमाडौंमा कार्यक्रम गरी आचार्यले आफ्नो जीवनीमा आधारित पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा उहाँले सिंगो परिवारका लागि बिहानैदेखि काममा तल्लीन रहने महिलाको आर्थिक विकासमा कुनै योगदान नै छैन भनिएपछि त्यसको अनुसन्धान गर्दै जाँदा त्यसैले आफूलाई महिलावादी बनाएको बताउनुभयो । अर्थशास्त्रमा विद्यावारिधी गर्नु भएकी आचार्यका महिला र अर्थतन्त्रसँग जोडिएका विभिन्न अनुसन्धानमूलक सामग्री प्रकाशित छन् । पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्यकी छोरी मीनाले आफूले बाल्यकालमै बुबाको राजनीतिका कारण परिवारले ब्यहोर्नुपरेको सास्ती र आमाको संघर्षलाई समेत पुस्तकमा समेटेको बताउनु भयो । उहाँले आमाले गरेको संघर्षकै कारण आफूहरुले अध्ययन गर्न पाएकाले देशका लागि केही गर्नुपर्छ भन्ने भावनाले प्रेरित गरेको बताउनु भयो ।

कार्यक्रममा अधिकारकर्मी चाँदनी जोशीले मीना आचार्यको उर्जा, मिहिनेत र कामप्रतिको प्रतिबद्धताले आफूलाई सधैं प्रेरणा मिलेको बताउनु भयो ।

पूर्वअर्थमन्त्री महेश आचार्यले नेपालमा लैंगिक समानता र लैंगिक बजेट ल्याउन अर्थविद् मिना आचार्यको अनुसन्धानले मार्गदर्शन गरेको जनाउनु भयो । टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले आचार्यको जीवनीमा आधारित पुस्तकले नेपालको समाजशास्त्र, अर्थशास्त्र र नारीवादीको आन्दोलनको चित्रण गर्ने बताउनुभयो । मीना आचार्यले राणा काल, पञ्चायती व्यवस्था र बहुदलीय व्यवस्थासम्ममा महिलाको अवस्थाबारे आफ्नो भोगाइलाई समेत समेटेर पुस्तकमा उतार्नु भएको छ । पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.