काठमाडौं । लेखक आर्डी भट्टको पहिलो पुस्तक ‘केटो’ सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
काठमाडौंमा आयोजित एक समारोहकाबीच सोमबार प्याब्सन, फेकालगायत शैक्षिक संस्थाहरूमा आबद्ध विभिन्न विद्यालयका प्रिन्सिपलहरू, नियात्राकार प्रतीक ढकाल, सम्पादक श्रीश भण्डारी र लेखक आर्डी भट्टलगायतले पुस्तक लोकार्पण गरेका हुन् ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै नियात्राकार ढकालले ‘केटो’ किताब लेखकको बाल्यावस्थाको संस्मरण र कल्पनाशीलताको समिश्रण भएको बताए । ‘यो पुस्तक निम्नमाध्यमिक र माध्यमिक तहका विद्यार्थीहरूका लागि एकदमै उपयोगी छ,’ उनले भने ।
यस्तै प्याब्सन बागमती प्रदेशका अध्यक्ष थकिन कुमार गुरूङ्ले ‘केटो’ पुस्तकबाट बालबालिकाले आजभन्दा ४ दशक अघि नेपालको सुदूरपश्चिम क्षेत्रका बालबालिका के कस्तो समाज र परिवेशबाट गुज्रिएका थिए भन्ने बुझ्न सक्ने बताए ।
कार्यक्रममा लेखक भट्टले आफ्नो बाल्यावस्थाको भोगाई, अनुभव र सम्झनाहरूलाई समेटेर अनि त्यसैमा कल्पनाको थोरै जलप लगाई यो कृति तयार पारेको बताए ।
इटर्नल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य ४ सय ३० रूपैयाँ छ ।