मनिराज वाङ्मय पुरस्कारबाट दुई साहित्यकार सम्मानित

चैत्र २७, २०८० |कान्तिपुर टीभी संवाददाता
मनिराज वाङ्मय पुरस्कारबाट दुई साहित्यकार सम्मानित

धनगढी । जनही एक लाख रुपैयाँको मनिराज वाङ्मय पुरस्कारबाट दुई साहित्यकारलाई आज धनगढीमा सम्मान गरिएको छ ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीले वरिष्ठ समालोचक, साहित्यकार तथा भाषाविद् प्राध्यापक डा. वासुदेव त्रिपाठी र वरिष्ठ संस्कृतिविद्, साहित्यकार एवं भाषाविद् प्रा.डा. चूडामणि बन्धुलाई पुरस्कारबाट सम्मान गरिएको हो ।

यसैगरी साहित्यकार एवं पण्डित लक्ष्मीकान्त जोशी रेग्मी र साहित्यकार नारा जोशीलाई क्रमशः जयराज पन्त र नृपबहादुर स्वाँर पुरस्कार प्रदान गरिएको छ ।

धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले एक लाख नगद, प्रमाणपत्र र दोसल्लासहित साहित्यकारहरुलाई सम्मान प्रदान गरे ।

धनगढीका महाकाव्यकार तथा ज्योतिषी मनिराज जोशी र उनका परिवारका सदस्यहरु गोविन्द, तारा र वसन्तराज जोशीले ‘मनिराज वाङ्मय पुरस्कार’को स्थापना गरेका हुन् । पुरस्कारका लागि जोशी परिवारले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

प्रतिष्ठानले विगत ६ वर्षदेखि यो पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार पद्मराज जोशीले बताए । प्रतिष्ठानले यसअघि, राष्ट्रकवि माधवप्रसाद घिमिरे, प्राज्ञ दधिराज सुवेदी, पूर्वप्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द र उपन्यासकार, कथाकार तथा समालोचक तुलसी भट्टराईलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिसकेको छ ।

२०७८ र २०७९ मा कारणवश वितरण हुन नसकेको पुरस्कार यस वर्ष एकैपटक प्रदान गरिएको अध्यक्ष जोशीले जानकारी दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement