५१ सेसनको अन्तरसंवादसँगै सकियो साहित्य महोत्सव

फाल्गुन ७, २०८० |भुपाल गुरुङ
५१ सेसनको अन्तरसंवादसँगै सकियो साहित्य महोत्सव

पोखरा । पोखरामा पाँच दिनदेखि जारी साहित्यको कुम्भमेला ५१ वटा सेसनमा अन्तसंवाद गर्दै सकिएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजनामा फेवातालकिनार बाराहीघाटमा आयोजना गरेको ११औं संस्करणको सूर्य नेपाल गाथा नेपाल साहित्य महोत्सव आज सकिएको हो । आज अन्तिम सेसनका रुपमा सम्बन्धका आयाममा पत्रकार विजयकुमारसँग लेखक अमर न्यौपाने गफिए ।

त्यसैगरी महोत्सवमा आज १३ वटा सेसन भएका छन् । बिहान नेपाली परम्पराको स्वाद शीर्षकमा संवाददेखि अभिनयको फरक अन्दाज, प्रकृतितर्फ फर्क, विश्वविद्यालय सुधारका सूत्र, पोखराका पर्यटकीय गन्तव्य, सामाजिक शिक्षा र हाम्रो पठ्यक्रम, राणतन्त्र, राजतन्त्र र गणतन्त्रलगायत विषयमा बहस भए ।

फागुन ३ गतेदेखि सुरु भएको महोत्सवमा विश्व चर्चित हलिउड फिल्म ‘ओपनहाइमर’ फेम्ड लेखक काई बर्ड, ‘क्लाउड’ देखि देशको आर्थिक, राजनिति र समसमायिक विषयहरुमा तीन सय वक्ताबीच बहस, छलफल र अन्तरसंवाद भए ।

महोत्सवको हरेक साँझ कुटुम्ब ब्यान्ड, डा. ध्रुवेशचन्द्र रेग्मी र उनको समूह, डा. सुमन थापा र द ब्लू फ्रेट ब्यान्ड, विपुल क्षेत्री र उनको द ट्राभलिङ ब्यान्डले संगीतिक माहोल बनाए । सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डला काठमाडौंबाट सुरु भएको महोत्सवको छैटौं संस्करणदेखि पर्यटकीय सहर पोखरामा हुँदै आइरहेको छ ।


Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।