नेपालीले नदेखेका कुरा म देख्छु : एरिक भ्याली

फाल्गुन ६, २०८० |कान्तिपुर टीभी संवाददाता
नेपालीले नदेखेका कुरा म देख्छु : एरिक भ्याली

काठमाडौं । ‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भ्याली भन्छन्, ‘सानो देश नेपाल विविधताले भरिएको छ । दुनियाँमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ ।’

तर नेपालको महत्त्व नेपालीले नै बुझ्न नसकेको भ्यालीको बुझाइ छ । वीरेन्द्रनगरमा जारी कर्णाली उत्सवको ‘कर्णाली क्याराभान’ सत्रमा वक्ताका रुपमा भ्यालीले नेपालको विविधता र बहुआयामिकता अथाह भएको बताए । भ्याली तीनै व्यक्ति हुन्, जसले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२औं संस्करणका दौरान सूचीकृत भएको थियो । यी फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग नेपाल र कर्णालीको साइनो उत्तिकै गाढा छ ।

फिल्मले जोडेको साइनोका कारण भ्याली कर्णाली उत्सवमा उपस्थित भएका थिए । डोल्पामा बसेर क्याराभान निर्माण गरेका भ्यालीको नेपाल र कर्णाली यात्रा भने रोचक छ । भ्याली १८ वर्ष हुँदा घुम्न अफगानिस्तान पुगेका थिए । त्यहाँ घुम्दा-घुम्दै उनको भिसा सकिएछ । एकदिन अफगानी सेनाले पक्राउ गरेर उनलाई जेल हाल्यो । ‘अफगान आर्मीले मलाई दुईवटा विकल्प दियो घर जान्छस् कि अन्य छिमेकी मुलुकमा ? तर म घुम्न आएकाले भारत जाने निर्णय सुनाएँ,’ भ्यालीले भने, ‘भारतमा तिम्रो देशका बारेमा धेरै कुरा सुने । नेपाल आएँ । त्यसपछि त तिमीहरुको देशमा माया बस्यो ।’

भ्यालीका अनुसार त्यतिबेलासम्म नेपालमा टुरिजम मात्रै थियो । ‘विदेशीहरुले नेपालमा टुरिजम मात्रै देख्थे । तर मलाई सक्कली नेपाल देख्नु थियो । कुनै पनि विदेशी नपुगेको ठाउँमा पुगें,’ उनले भने । सक्कली नेपाल देख्ने चाहकै कारण अरुण, तमोरलगायत क्षेत्रमा पुगेको भ्याली बताउँछन् । घुम्दा-घुम्दै उनी कर्णालीको डोल्पा पुगे । सुरुआती चरणमा फोटोग्राफी मात्रै गर्दै आएका उनलाई डोल्पा पुगेपछि भने फिल्म बनाउने इच्छा जाग्यो । डोल्पाली जनजीवनले उनलाई तान्न थाल्यो । ‘ऊनको लुगा, चौंरीको दूध, आलु र उवाको खानपान, रहनसहन एकदमै भिन्न थियो । तीनै मान्छेहरुको जनजीवनलाई क्यामेरामा कैद गर्दा क्याराभान बनेको हो,’ भ्याली भन्छन् ।

‘एउटा सशक्त फिल्म बनाउन के गर्नुपर्ने रहेछ ?’ उत्सवमा भ्यालीलाई प्रश्न गर्ने भूमिकामा रहेका काठमाडौं विश्वविद्यालयका सह-प्राध्यापक डा. लोचन रिजालले प्रश्न गरे । ‘फिल्म राम्रो हुनलाई शक्तिशाली कथा हुनुपर्छ । शक्तिशाली कथा भेटाउन गाउँ डुल्नुपर्छ,’ जवाफमा भ्यालीले भने । क्याराभान फिल्मको स्क्रिप्टका लागि आफूले तीन वर्ष पढेको बताए । ‘राम्रो कथा फेला पारेर मात्रै हुँदैन । त्यसको मुटुसम्म पुग्नुपर्छ । पावरफुल स्टोरी भेटाएपछि अरु बाटाहरु खुल्दै जान्छन् । सजिलै फिल्म भेटिँदैन । राम्रो कन्टेन्ट छैन भने फिल्म नबनाएकै राम्रो हुन्छ,’ उनले चलचित्र निर्मातालाई सुझाए ।

उनले नयाँ पुस्ताका चलचित्र निर्माताहरुलाई कर्णालीका दूरदराजमा घुम्नसमेत आग्रह गरे । एउटा विदेशी आएर नेपालबारे फिल्म बनाउँदै गर्दा तपाईंहरु आफ्नै देशमा किन घुम्नु हुँदैन ? भन्दै उनले नयाँ पुस्तालाई आग्रहसमेत गरे । ९ महिना डोल्पामा बसेर हिउँमा क्याराभानको सुटिङ गरेको उनले जनाए । ‘त्यहाँको याक, मान्छे सबै अर्ग्यानिक थिए । आफ्नै दुनियाँका । आफ्नै सोच, विचारका,’ उनले भने, ‘फिल्म निर्मातामा केही पागलपन हुन आवश्यक छ । म त्यस्तै एउटा पागलपन भएको फिल्म निर्देशक हुँ ।’

१९५२ मा फ्रान्समा जन्मिएका भ्यालीले नेपालमा मात्रै ३० वर्ष बिताएको बताउँछन् । फिल्ममार्फत नेपालको सांस्कृतिक सम्पदालाई संसारभर चिनाएका भ्यालीको नेपाल प्रेम अनौठो छ । ‘म विदेशी नजाने बाटो हिँडछु । त्यसले मलाई नयाँपन दिन्छ । दुर्गम र रिमोट क्षेत्रमा पुग्छ । बाटो बिराउँछु । कहिले भोकै सुत्छु । फेरि गन्तव्य त भेटाइ नै हाल्छु,’ उनी भन्छन्, ‘हाल सुदूरपश्चिमको बझाङ र बाजुरमा पुगेर त्यहाँको प्राकृतिक, सांस्कृतिक महत्त्वबारे लेखिरहेको भ्यालीले बताए ।

‘बाजुरा पनि अनौठो छ । त्यहाँको बारेमा बुझ्दै छु । ती कुराहरु लैख्दै छु,’ उनले भने । भ्याली नेपालीमै आफ्नो कुरा प्रस्ट रुपमा राख्न सक्छन् । महोत्सवमा प्रश्नकर्ता रिजालले उनलाई अर्को प्रश्न गरे, ‘नेपाली भाषा किन सिक्नु भयो ?’ जवाफमा भ्यालीले भने, ‘नेपाली भाषा नजानेसम्म नेपालको बहुआयामिक संस्कृति बुझिँदैन । दूरदराजमा अंग्रेजी र फ्रान्सेली भाषा बुझ्दैनन् । त्यसो हुँदा नेपाली सिकें ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.