काठमाडौं । काठमाडौँमा आजदेखि ५ दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदै छ ।
३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आइसकेका छन् । कला महोत्सवका लागि विदेशबाट ३० जना कलाकार आएका छन् भने एक सय ५० भन्दा बढी नेपालका कलाकार सहभागी हुनेछन् ।
फेष्टिवलले नेपालको मौलिक पहिचान विश्वसामु पुर्याउन सहयोग पुग्ने कार्यक्रम संयोजक एनबी गुरुङले जानकारी दिए । कला महोत्सवमा सहभागी हुन बेलायत, म्यानमार, थाइल्यान्ड, बङ्गलादेश, भारत, अस्ट्रियालगायत देशका ३० जना कलाकार नेपाल आएका छन् । महोत्सवमा सहभागी गराइने तीन सय ४० कला सिर्जनामध्ये नेपालका एक सय १५ जना कलाकारका सिर्जना सहभागी गराइएको छ ।
कला महोत्सव मङ्सिर २० गतेसम्म चल्नेछ । उद्घाटनपछि नेपाल कला परिषद् बबरमहलमा विदेशी कलाकारको सहभागितामा कला डेमोस्ट्रेसन हुने र त्यसबाट सिकाइ आदानप्रदान हुने महोत्सव संयोजक गुरुङले बताए ।
यसअघि महोत्सवकै रूपमा लुम्बिनी, पोखरा, काठमाडौँलगायत विभिन्न क्षेत्रमा यसै गरी कला महोत्सव गरिएको थियो ।