पाल्पामा प्रतिभा सम्मान तथा देवकोटा स्मृतिग्रन्थ लोकार्पण

मंसिर ३, २०८० |माधव अर्याल
पाल्पामा प्रतिभा सम्मान तथा देवकोटा स्मृतिग्रन्थ लोकार्पण

पाल्पा । संस्कृति तथा नेपाली भाषाका विद्वान् कवि माधवप्रसाद देवकोटोको १२०औं जन्मजयन्ती पाल्पाको तानसेनमा मनाइएको छ ।

माधव-दमयन्ती स्मृति प्रतिष्ठान पाल्पाले आइतबार तानसेनमा गरेको कार्यक्रममा कवि देवकोटाका विषयमा लेखिएको स्मृति ग्रन्थको तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठले विमोचन गरे । श्रेष्ठले देवकोटाको घर आफ्नै टोलमा भएकाले आफ्नै परिवारकै सदस्य लाग्ने धारणा राखे । साहित्य, दर्शन, समाजसेवा, शिक्षक प्राध्यापक व्यक्तिका रूपमा राष्ट्रिय व्यक्तित्व रहेको उनको भनाइ छ ।

देवकोटाको प्रतिमामा माल्यार्पण, प्रतिभा सम्मानका साथै स्मृतिग्रन्थको समीक्षा गरिएको प्रतिष्ठानका अध्यक्ष तथा स्मृतिग्रन्थका सम्पादक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । देवकोटाका विषयमा लेखिएका ५५ वटा रचना रहेको स्मृतिग्रन्थका विषयमा साहित्यकार टंक पन्थले समीक्षा र व्यक्तित्व परिचय साहित्यकार शंकर गैरेले गरेका थिए । सोही अवसरमा वरिष्ठ साहित्यकार गोपीकृष्ण शर्मालाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका प्रमुख टंकप्रसाद भट्टराई, साहित्यकार डा. शंकरप्रसाद गैरे, अर्का साहित्यकार डा. टंकप्रसाद पन्थ, साहित्यकार तथा पत्रकार मन गहिरेलगायत साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक प्रधानाध्यापक, साहित्यकार व्यक्तित्व तथा प्रतिष्ठानसम्बद्ध व्यक्तिको सहभागिता थियो ।

प्रतिष्ठानकी उपाध्यक्ष तथा साहित्यकार कमला देवकोटाले स्वागत गर्दै स्मृतिग्रन्थ प्रकाशनमा ढिलाइ भएको जनाइन् । प्रतिष्ठानका अध्यक्ष कोइरालाले संस्थाले हालसम्म गरेका गतिविधिलाई प्रस्तुत गरे ।

कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै डा. पन्थले देवकोटाको बहुआयामिक पक्षलाई उठान गर्दै कमजोर पक्षलाई संकेत गरे । देवकोटाको परिचय गराउँदै डा. गैरेले देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । कार्यक्रममा आजीवन सदस्य अविरल पोखरेल र नवराज पोखरेललाई आजीवन सदस्यका रूपमा सम्मान गरियो ।

साहित्यकार पुष्करराज रेग्मीले विगत १५ वर्षदेखि सम्झँदै आएको बताए । साहित्यकार राजेन्द्रगोपाल सिंहले देवकोटाका विषयमा पाल्पा साहित्य समाजले धेरै काम भएको सन्दर्भ उल्लेख गरे । साहित्यकार मन गहिरेले देवकोटाको स्मृतिग्रन्थको प्रकाशन हुनु आफैंमा सह्रानीय कार्य भएको जनाए । स्थानीय सरकारले देवकोटाजस्ता प्रतिभाका रचनाहरू पाठ्यक्रममा राख्नुपर्ने उनको भनाइ छ ।


Image

माधव अर्याल

अर्याल कान्तिपुर टेलिभिजनका पाल्पा संवाददाता हुन् ।