वरिष्ठ साहित्यकार शान्तदास मानन्धरको निधन

कार्तिक २८, २०८० |कान्तिपुर टीभी संवाददाता
वरिष्ठ साहित्यकार शान्तदास मानन्धरको निधन

काठमाडौं । वरिष्ठ साहित्यकार शान्तदास मानन्धरको निधन भएको छ ।

उनको ९० वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मानन्धरको कलम बालसाहित्यमा बढी चलेको थियो । मानन्धर ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशकसमेत हुन् ।

मानन्धर पहिलो पारिजात बाल साहित्य सम्मान २०७०, जगदम्बा श्री सम्मान २०७५ लगायत अन्य थुप्रै सम्मानबाट सम्मानित व्यक्तित्व हुन् ।

‘बालसाहित्यका शिखर पुरुष, बालसाहित्यका सिद्धान्तकार, बालसाहित्यका कुशल सम्पादक र प्रशिक्षक, ‘बालकोसेली’, ‘बालपोष’ र ‘मचाक्यब’ नामका बालसाहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक वरिष्ठ साहित्यकार शान्तदास मानन्धरको ९० वर्षको उमेरमा आज मिति २०८० कात्तिक २८ गते मंगलबार बिहान बयोधा अस्पतालमा निधन भएको खबरले म अत्यन्त मर्माहत र स्तब्ध छु,’ साहित्यकार प्रा. जगत् उपाध्याय प्रेक्षितले सामाजिक सञ्जालमा लेखेका छन् ।

मानन्धरको निधनबाट बालसाहित्यमा अपूरणीय क्षति भएको प्रेक्षितले स्मरण गरेका छन् । ‘उहाँको निधनबाट नेपाली बालसाहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको छ । बालकोसेली पत्रिका र अनेकौं बालसाहित्यिक कृतिहरूको सम्पादन गर्दा तथा रुम टु रिड संस्थामा परामर्शदाताका रूपमा काम गर्दा आदरणीय शान्तदास मानन्धरसँग गरिएका सहकार्यका सन्दर्भहरू सदैव स्मरणीय रहिरहनेछन्,’ प्रेक्षितले लेखेका छन्, ‘यस दुःखद घडीमा कीर्तिशेष शान्तदास मानन्धरप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल समस्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

पारिवारिक स्रोतका अनुसार उनको अन्त्येष्टि भोलि गरिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.