मिठाईदेवी विश्वकर्मालाई समाजसेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान

कार्तिक २४, २०८० |कान्तिपुर टीभी संवाददाता
मिठाईदेवी विश्वकर्मालाई समाजसेवा पुरस्कार, १५ स्रष्टालाई सम्मान

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औं जन्मजयन्तीका सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा स्थापित कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार मिठाईदेवी विश्वकर्मालाई प्रदान गरेको छ । यस्तै समाजले १५ स्रष्टालाई सम्मानसमेत गरेको छ ।

काठमाडौं र दाङमा आयोजित कार्यक्रममा सम्मान र पुरस्कार प्रदान गरिएको हो । आज काठमाडौंमा भएको कार्यक्रममा वर्ष २०७९ को १ लाख १० हजार रुपैयाँ राशिको कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार विश्वकर्मालाई उच्च अदालतका पूर्वमुख्य न्यायाधीश शेषराज शिवाकोटीले अर्पण गरे ।

यसैगरी अग्रज स्रष्टा राजेन्द्र विमललाई शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले वर्ष २०८० को चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान अर्पण गरेका थिए । कार्यक्रममा स्व. राजेश्वर नेपालीलाई प्रदान गरिएको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान उनका पुत्र राघवेन्द्र साहले ग्रहण गरेका थिए । डा. रामप्रसाद ज्ञवालीलाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, सुलोचना मानन्धरलाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, कृष्णराज चौधरी (सर्वहारी) लाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान, प्रा.डा. सावित्री कक्षपतिलाई पवित्रादेवी चौलागाईं मानवअधिकार स्रष्टा सम्मान, प्रा. नवराज पाण्डेयलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, मुकुन्द आचार्यलाई जोगमाया बराल स्रष्टा सौगात, बाजुराम पौडेललाई भूमिप्रसाद बराल स्रष्टा सौगात, कमलादेवी हेमचुरीलाई जनककुमारी रेग्मी स्रष्टा सौगात, लीला रानालाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात, मधुराज केरुङलाई राधादेवी दाहाल स्रष्टा सौगात, हंसावती कुर्मीलाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।

यस्तै श्रीनारायण दाहाल स्रष्टा सौगातद्वारा सम्मानित मधु शाही बस्नेत हुम्लामा रहेका कारण उनका नातेदारले पुरस्कार ग्रहण गरेका थिए । पुरस्कृतलाई स्रष्टा अशेष मल्ल, शान्ति समाजका सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, संस्थापक महासचिव सुवास ढकाल, वरिष्ठ उपसभापति कृष्णबहादुर रावल, सचिव रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, पूर्वकोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्य नम्रता खरेल र रामबाबु दाहालले पुरस्कार प्रदान गरेका थिए । सबै पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ ।

कार्यक्रममा समसामयिक विषयमा स्रष्टा अर्जुन पराजुलीले र महाकवि देवकोटाप्रति श्रद्धासुमनसहित स्रष्टा रत्ननीधि रेग्मीले कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा सम्मानित स्रष्टाले आफ्नो रचना प्रस्तुतिका साथै मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी आजै दाङको तुलसीपुरमा आयोजित कार्यक्रममा स्रष्टा मधु हमाललाई वर्ष २०८० को गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात पुरस्कार उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचनले प्रदान गरेको समाजकी उपनिर्देशक सरिता पौडेलले जनाइन् । कार्यक्रममा ९ स्रष्टाले रचना प्रस्तुत गरेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.