पाँचौं बाह्रखरी कथा प्रतियोगितामा ‘कथा आह्वान’

भाद्र ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
पाँचौं बाह्रखरी कथा प्रतियोगितामा ‘कथा आह्वान’

काठमाडौं । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता २०८०’ लागि कथा आह्वान गरिएको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको नयाँ संस्करणको घोषणासँगै कथा आह्वान गरेको हो ।

बाह्रखरीलाई प्राप्त हुने सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ । यसपालि निर्णायकमा डा. सावित्री कक्षपति, महेशविक्रम शाह र सुबिन भट्टराई छन् ।

तीमध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीयका साथै ‘उत्कृष्ट कथा, २०८०’ पुस्तकका लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ । प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगदका साथै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथाको पुस्तक प्रकाशन गरिनेछ । संग्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।

नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा आउँदो असोज ३० गतेसम्म [email protected] मा इमेल गरेर कथा पठाउन सकिनेछ । संसारभरिबाट नेपाली भाषामा कथा पठाउन सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.