जनकपुरमा सुस्ताएको साहित्यिक गतिविधि लयमा फर्कंदै (भिडियो रिपोर्ट)

फाल्गुन १४, २०७९ |कान्तिपुर टीभी संवाददाता
जनकपुरमा सुस्ताएको साहित्यिक गतिविधि लयमा फर्कंदै (भिडियो रिपोर्ट)

जनकपुर । साहित्य समाजको ऐना हो भनिन्छ । साहित्यले समाजका कुरीति, विसंगतिलाई मात्र उठाउँदैन, सामाजिक चेतना बढाउने काम गरेको हुन्छ । यिनै कुरालाई मध्यनजर गर्दै सांस्कृतिक नगरी जनकपुरमा सुस्ताउँदै गएको साहित्य गतिविधि फेरि जागृत हुन थालेको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाम विद्वान-विदूषीहरूको जमघट हुने थलोका रूपमा परिचित छ । जनकपुरधाममा राजनीतिक परिवर्तनको संवाहकदेखि संस्कृतका साथै आधुनिक शिक्षाको ज्ञान आर्जन गर्न देशभरका शिक्षार्थी आउाछन् । यही जनकपुरमा मुलुकभरका प्रतिष्ठित लेखक, कवि र राजनीतिक व्यक्तित्वहरूको सहभागी भएर साहित्य र समसामयिक राजनीतिका बहुआयामबारे चर्चा गरेका छन् ।

जानकी मन्दिर प्राङ्गणमा आयोजित तीन दिवसीय साहित्य महोत्सवमा विभिन्न २० सत्रमा देश विदेशका १ सय ५० भन्दा धेरै स्रष्टा सहभागी भएर आ-आफ्ना मत र दृष्टिकोण जाहेर गरेका छन् । यो जमघटले मैथिली साहित्य, कला संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । साहित्य र सांस्कृतिक आदानप्रदानको माध्यमबाट लोककल्यणको लागि सामाजिक जागरुकता बढाउने साहित्यकारहरूको विश्वास छ ।

जनकपुरधाम मिथिला संस्कृति र संस्कारको राजधानी हो । चाडपर्व, कला, साहित्यमा धनी भएपनि जनकपुरलाई पर्यटनसँग भने अपेक्षाकृत ढङ्गले जोड्न सकिएको छैन । यसपटकको महोत्सवबाट जनकपुरको कला, साहित्य, संस्कृतिलाई पर्यटकीय कोणबाट देशभर प्रचारप्रसार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । साथै लोप हुनलागेको शास्त्रार्थ तथा संवाद गर्ने परम्पराले निरन्तरता पाउने आशा पनि आयोजकको छ ।

नव मिथिला फाउण्डेशनले चौथोपटक आयोजना गरेको साहित्य महोत्सवले जनकपुर र मधेस प्रदेशको भाषा, संस्कृति तथा साहित्यलाई उजिल्याउने र चिनाउने प्रयास भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.