सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण

माघ २३, २०७९ |कान्तिपुर टीभी संवाददाता
सुरभि साहित्य प्रतिष्ठानद्वारा विभिन्न स्रष्टाहरुलाई सम्मान तथा पुरस्कार वितरण

काठमाडौं । सुरभि साहित्य प्रतिष्ठान बेसीगाउँ, जोरपाटीले १५ औँ साधारण सभाको अवसरमा विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ ।

शनिबार गोकर्णेश्वर नगरपालिका बेसीगाउँस्थित ढोल्खा धारो कुटीमा आयोजना गरिएको कार्यक्रममा गुरुप्रसाद मैनाली–सुरभि आख्यान पुरस्कार बरिष्ठ आख्यानकार हरिहर खनाललाई प्रदान गरियो ।

यस्तै, सुरभि बाजुराम आख्यान साधना पुरस्कार बरिष्ठ आख्यानकार भाउपन्थी र सुलेख आख्यान प्रतिभा पुरस्कार विश्‍व कुइकेललाई प्रदान गरिएको छ ।

यसैगरी सुरभि प्रल्हाद नारी आख्यान पुरस्कार रञ्जना पराजुली, सुरभि अच्युतराम लघुकथा पुरस्कार डा. रवीन्द्र समिर र सुरभि वेदमणि आख्यान पुरस्कार लक्ष्मण खतिवडालाई प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

उक्त कार्यक्रममा बरिष्ठ साहित्यकार प्राध्यापक गोपीकृष्ण शर्मालाई अभिनन्दनसमेत गरिएको थियो ।

प्रत्येक महिनाको तेस्रो शनिबारलाई आख्यान वाचन कार्यक्रमको रूपमा लिएको प्रतिष्ठानले १४५ औँ आख्यान वाचनको निरन्तरतास्वरूप पुरष्कृत आख्यानकार विश्‍व कुइकेलबाट कथा वाचनसमेत गराएको थियो ।

बरिष्ठ साहित्यकार विजय चालिसेको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा काँठ क्षेत्रका चर्चित आख्यानकार नारायण ढकाल, बरिष्ठ हास्यव्यङ्ग्यकार मुकुन्द आचार्य, समालोचक युवराज मैनालीसमेतको उपस्थिति थियो ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रतिष्ठानले सुलेख साहित्य मासिक नामको साहित्यिक पत्रिका नियमितरुपमा प्रकाशन गर्दै आएकोमा सोही कार्यक्रममा जोरपाटी आरुबारीमा जन्मिएर साहित्यिक शीखरमा पुगेका साहित्यकार रमेश विकलप्रति समर्पण गर्दै आफ्नो १२५ औँ अंक रमेश विकल विशेषाङ्कको रूपमा प्रकाशन गरेको जानकारी गराउँदै उक्त अङ्कको विमोचनसमेत गरिएको थियो ।