अख्तियारले गर्‍यो राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

माघ २०, २०७९ |कान्तिपुर टीभी संवाददाता
अख्तियारले गर्‍यो राष्ट्रव्यापी लोकगीत प्रतियोगिता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३२औं स्थापना दिवसका अवसरमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सदाचारसम्बन्धी सचेतनामूलक राष्ट्रव्यापी लोकगीत प्रतियोगिता गरेको छ ।

आयोगले गरेको कार्यक्रममा विभिन्न चरणबाट छानिएका १५ समूहले शुक्रबार अन्तिम प्रतिस्पर्धामा सहभागी बनेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवस कार्यक्रममा आयोगका आयुक्त हरि पौडेलले आयोगले भ्रष्टाचार न्यूनकीरणसम्बन्धी सचेतनामूलक प्रतियोगिताका माध्यमबाट आमजनतालाई सचेत गराएको जनाए । उनले भ्रष्टाचार नियन्त्रणका लागि बनेका कानुनको आवश्यक पालना र न्यूनीकरणलाई ध्यानमा राखेर आमजनतामा सचेतना फैलाउन लोकदोहोरीमार्फत उजागर गरिएको जनाए ।

उनले लोकदोहोरी सबै क्षेत्रमा सुनिने र आममानिसले सहज रुपमा बुझ्ने भएकाले अख्तियारीसम्बन्धीका नीति-नियमहरु गीतका माध्यमबाट प्रस्तुत गरिएको जनाए । ‘भ्रष्टाचार आफैंमा जटिल विषय भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मात्र यसको न्यूनीकरण सम्भव छैन, यसको न्यूनीकरण र नियन्त्रणका लागि सबैको भूमिका महत्त्वपूर्ण हुन्छ, गीत, संगीतको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने, ‘भ्रष्टाचारजस्तो संवेदनशील विषयमा आयोगसँग सहजीकरण गरी भ्रष्टाचार न्यूनीकरण गर्न र भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले भ्रष्टाचार न्यूनीकरणका लागि चालिएका आवश्यक कदमहरुलाई आमजनतामा सहज रुपमा बुझाउन यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । उनले जनस्तरमा जनचेतना फैलाउन गीत, संगीत सहज र उत्कृष्ट माध्यम हुने भएकाले कानुनसम्बन्धी जानकारी गीतबाट पाउन सकिने बताए ।

‘हामीले भ्रष्टाचारसँग सम्बन्धित कानुन बनायौं, नीतिहरु छन्, प्रक्रिया छन्, यसलाई कसरी कार्यान्वयन गर्ने सबै छ, तर यो कुरा कार्यान्वयन गर्नेमा मात्रै सीमित छन्, यसलाई जनस्तरमै जनचेतना कसरी जनाउने भन्ने सोचिएको छैन, यसलाई लोकदोहोरीका माध्यमबाट जनमानसमा चेतना फैलाउन यो काम भएको छ । संगीतहरु श्रुतिमाधुर्य हुन्छन्, भाषा नै हुँदैनन् कतिपय संगीतका । यो लोकगीत, हाम्रा दस्ताबेजहरुले आमस्तरमा बुझाउने काम गर्दछ,’ उनले भने ।

कार्यक्रममा प्रतियोगी कलाकारहरुले अख्तियारसम्बन्धी सचेतनामूलक गीत गाएर सुनाएका थिए । समाज परिवर्तनका लागि आवश्यक नीति, नियम, कानुनबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकारहरुले आफ्ना-आफ्ना गीत प्रस्तुत गरेका थिए । राष्ट्रव्यापी लोकगीत प्रतियोगितामार्फत भ्रष्टाचारविरुद्ध सचेतना र भ्रष्टाचार न्यूनीकरणको अभियानलाई जनस्तरसम्म पुर्‍याउने लोकभाकाहरु गीतमा प्रस्तुत थिए ।