अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज दुई नेपाली नाटक मञ्चन हुँदै

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा आज दुई नेपाली नाटक मञ्चन हुँदै

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) चौथो दिन आजदेखि प्यानल डिसकसनका कार्यक्रम सुरु हुँदैछ । त्यस्तै नेपालका दुई नाटक मञ्चन र कार्यशाला हुनेछ ।

केही महिनाअघि मञ्चन भएको नेपाली नाटक 'खुवालुङः ढुंगाको बाटो' मञ्चन हुँदैछ । साहित्यकार राजन मुकारुङ लिखित तथा किरण चामलिङ निर्देशित यस नाटक मध्यान्ह १२ र दिउँसो ४ बजे मञ्चन हुनेछ ।

'खुवालुङ' जसले किराँती सभ्यताको इतिहासको रुपमा सदियौंदेखि सप्तकोसीको बीचमा उभिएको ढुंगाको कथा बारे बताउँछ । नाटकले सो ढुंगाको मिथ बताउँदै गर्दा, सिंगो किराँती जनताको भावनालाई नबुझी यसलाई फुटाउन धम्की दिने सरकारको आलोचना गर्दछ ।

त्यस्तै साँझ ६ बजे नेपाली प्रयोगात्मक प्रस्तुति 'इम्ब्रिओनिक' मञ्चन हुनेछ । जसलाई केदारनाथ पौडेलले लेखन तथा निर्देशन गरेका छन् । रंगमन्चमा हृदय र मस्तिष्कबीचको विरोधाभाषसँगै अस्तित्व सम्बन्धी प्रश्नहरु आउन थाल्नेछन् । यी प्रश्नहरुसँगै दर्शकहरुले आफ्नो अनुभवको आधारमा आफूभित्रको विचारहरुलाई फर्केर हेर्ने र त्यसबारे एकदमै स–साना विवरणहरु याद गर्ने प्रयास यस नाटकले गराउनेछ ।

महोत्सवमा हिजो आइतबार अमेरिका/भुटानको एकल अभिनयात्मक नाटक 'थ्री कन्ट्रीः वन मोदर', रुसको पपेट नाटक 'द म्याजिक स्वान–गिज' मञ्चन भएको थियो । क्याटी बेक निर्देशित अंग्रेजी भाषाको 'थ्री कन्ट्रीः वन मोदर' लाई नीमा बल, क्याटि बेक, बेन्जामिन रेक्सरोडले लेखेका हुन् । सन् १९९० देखि २००० को बिचमा आफ्नो मातृभूमि भुटानबाट विस्थापित भएपश्चात, शरणार्थीको रुपमा नेपालबाट अमेरिका पुगेका भुटानी–नेपाली–अमेरिकी मानिसहरुको इतिहास दर्शाउने सत्यघटनामा आधारित कथा प्रस्तुत भएको थियो ।

त्यस्तै कोन्द्रातोएभा क्रिस्टिना लिखित तथा सुखोरुकोभा तातियाना निर्देशित रुसी पपेट नाटक 'द म्याजिक स्वान–गिज'मा अभिभावकहरु आफ्ना नानीबाबुका साथ नाटक हेर्न नाटकघरसम्म आइपुगेका थिए । नाटकले अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई उन्दै दिदीभाइको कथालाई लोक शैलीमा प्रस्तुत गरिएको थियो ।

आइतबारै साँझ नेपालको तर्फबाट रसिक राजको पर्फमेन्स आर्ट 'अवशेष' पनि प्रस्तुत भएको थियो । यसमा अन्शु खनाल, प्रभात तिमिल्सिना र सुरज पराजुलीको प्रस्तुति रहेको थियो ।

मंसिर १७ गतेसम्म चल्ने महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश छन् । महोत्सवमा १८ नाटकको २५ मञ्चन हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement