तीज गीतमा अश्लिलता : तीजको मौलिक संस्कृति र गरिमामाथि नै प्रश्न

भाद्र १५, २०८१ |अवतार राई
तीज गीतमा अश्लिलता : तीजको मौलिक संस्कृति र गरिमामाथि नै प्रश्न

काठमाडौं । नेपालका हरेक मौलिक चाडपर्व र संस्कृतिसँग गीत संगीतको गहिरो सम्वन्ध छ । हिन्दु महिलाले मनाउने तीजलाई नाचगानकै पर्व मानिन्छ । कतिसम्म भने हरेक वर्ष तीजलाई लक्षित गरि विशेष गीतहरु बजारमा आउने गरेका छन् । बदलिदो समयसँगै फेरिएका समाजिक तौरतरिकाका असर गीतसंगीतमा देखिनु स्वाभाविक हो । तर कतिपय तीज गीतहरु लोकप्रियता र भ्यूज कमाउने नाममा भद्धा र अश्लील हुने गरेको प्रतिक्रियाहरु आउन थालेका छन् । यसले तीजको मौलिक संस्कृति र यसको गरिमामाथि नै प्रश्न उठाएको छ ।

भदौको तृतीयामा मनाइने तीजका लागि खासगरी नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म गीत गाउने पुरानो परम्परा थियो । तर पछिल्लो समय साउन सुरु भएदेखि नै तीज गीतले शहरबजार पिट्ने गरेको छ । यस वर्ष तीजलाई लक्षित गरि करिव पाँचसय हाराहारी गीत बजारमा आएका छन् । त्यसमध्ये केही गीतले तीजको घट्नाप्रदान सन्दर्भलाई समेटेको भएपनि धेरै गीत भ्यूजको लोभमा तयार पारिएका छन् । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिने तत्वहरूले तीज गीतलाई पनि विकृत पारेको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको ठम्याइ छ ।

पछिल्लो समय तीजका गीतलाई अडियो, भिडिओ सामाजिक सञ्जाल र अन्य थुप्रै डिजिटल प्लेटफर्ममार्फत् जहाँ जतिबेला पनि सुन्न र हेर्न सकिन्छ । गएको १५ वर्ष यता सामाजिक सञ्जालका कारण तीजका गीत थप व्यवसायिक हुन थालेसँगै गीतका सर्जक भ्यूजको लोभमा विकृतिप्रति आँखा चिम्लिन थालेका हुन् । कतिसम्म भने व्यवसाय गर्ने नाममा गीतमा हास्य छिर्न थाल्यो । तीज भनेर रत्यौली गाउन थालियो । महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन थालियो। तीज डिस्को आउन थाल्यो । तीज ब्याटल गर्न थालियो। परम्परागत रूपमा महिलाहरूले गाउने गरेको तीजका गीत पछिल्ला समय पुरुषले समेत गाउन थाले ।

पहिला पहिला छोरीहरूको रजस्वला नभई विवाह गरिदिने र टाढा माइती हुने अनि सधैँ माइत जान नपाइने अवस्था थियो । त्यही भएर महिलाले तीजमा आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचारप्रति कटु व्यङ्ग्य तथा विद्रोह गर्दै स्वतन्त्रताका गीत गाउन गर्थे। अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माणका लागि तीज गीत सहयोगी बन्थ्यो । तर बढ्दो व्यावसायिक बजार र प्रतिस्पर्धाले पनि नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको संगीतकर्मीहरु बताउँछन्।

तीज गीतमा प्रयोग हुने माइतीघर र कर्मघरको बिम्व हराइसकेको छ। सामाजिक र पारिवारिक आयाम जोड्ने स्वभाव तीजका गीतमा हुनुपर्छ । त्यसकारण पनि मौलिकता बचाएर गीतमा विकृति विसङ्गति भित्रिन नदिन सम्वद्ध सबै सचेत हुन आवश्यक छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement