गाँउपालिकाकै कर्मचारी र वडाध्यक्षका छोराबाट बलात्कारमा परेकी किशोरीको सुरक्षामा कसैको छैन ध्यान

भाद्र २८, २०८१ |अमृता अनमोल
गाँउपालिकाकै कर्मचारी र वडाध्यक्षका छोराबाट बलात्कारमा परेकी किशोरीको सुरक्षामा कसैको छैन ध्यान

बुटवल । गाउँपालिकाको आवासीय तालिमका लागि भन्दै लगेर भदौ ५ गते रुपन्देहीको कोटहीमाई गाउँपालिकामा सरकारी कर्मचारीसमेतबाट एक किशोरीमाथि सामूहिक जबरजस्ती करणी भयो । ज्यान मार्ने धम्कीका बीच १० दिनपछि मात्रै प्रहरीमा जाहेरी पर्यो । पीडितको न्यायिक प्रक्रियामा बेवास्ता भएको यो घटना अहिले कसरी अगाडि बढेको छ त ?

प्रहरी भन्छ, पीडितको न्यायमा शून्य सहलशीलता अपनाउने नीति छ । तर, गाँउपालिकाकै कर्मचारी र वडाअध्यक्षका छोराबाट सामूहिक जबरजस्ती करणीमा परेकी रुपन्देहीको कोटहीमाई गाउँपालिकाकी १९ वर्षकी किशोरीको लागि भने यो लागु भएन । पीडक पहुँचवाला र पीडित विपन्न भएकै कारण स्थानीय प्रहरीले बेवास्ता गर्यो । घटनाको नवौं दिनमा भदौ १४ गते स्थानीयले पीडकलाई समातेर जिल्ला प्रहरी कार्यालय भैरहवामा ल्याएपछि मात्रै प्रहरीले पीडकलाई हिरासतमा राख्यो । त्यसको भोलिपल्ट पीडित आफै उपस्थित भएर जाहेरी दिएपछि बल्ल जाहेरी लियो । अहिले प्रहरीले के गर्दैछ त ?

न्यायिक प्रक्रियामा बेवास्ता भएको, किशोरीको सुरक्षा जटिल बनेको भन्दै लुम्बिनी प्रदेशसभा सदस्यहरुले प्रदेशसभाबाटै खबरदारी गरे । सञ्चारमाध्यमलेसमेत संवेदनशीलता देखाएपछि प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ । तर, किशोरीको सुरक्षा र संरक्षणमा कसैले ध्यान दिएको छैन ।

किशोरीलाई आवासीय तालिममा लैजाने भन्दै गाउापालिकाका उद्यम विकास सहजकर्ताले लुम्बिनीको एक होटलमा पुर्‍याएपछि शिक्षा शाखामा कार्यरत अर्का कर्मचारी र कोटहीमाई-३ अर्का युवकसमेतले बन्धक बनाएर सामूहिक जबरजस्ती करणी गरेका थिए । पीडक पक्षले जाहेरी फिर्ता लिन धम्काइरहेको प्रदेशसभा सदस्यकै गुनासो छ । 


Image

अमृता अनमोल

अनमोल कान्तिपुर टेलिभिजन रुपन्देही संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement