दोलखाको संरक्षण केन्द्रमा बस्ने १ बालक मृत भेटिए, बेपत्ता २ को अवस्था अज्ञात

भाद्र २९, २०८१ |केदार शिवाकोटी
दोलखाको संरक्षण केन्द्रमा बस्ने १ बालक मृत भेटिए, बेपत्ता २ को अवस्था अज्ञात

अभिभावकविहीन बनेर सडकमा आएका बालबालिकालाई सरकार गैरसरकारी संस्थाहरुले संरक्षण केन्द्रमा ल्याएर हेरचाह र शिक्षाको प्रबन्ध गरिरहेका छन् । यसरी ल्याइएका बालबालिकामध्ये दोलखाको एक संरक्षण केन्द्रबाट गत वर्ष र यो वर्ष गरी ४ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये एकजना बालकको जंगलमा शव फेला परेपछि यस्ता केन्द्रको व्यवस्थापनमा गम्भीर प्रश्न उठेको छ । 

गएको भदौ १२ गते दोलखाको भीमेश्वर नगरपालिका-१ सुस्पामा रहेको अधिकारका लागि बाल संरक्षण केन्द्रमा रहेका २ बालक विद्यालयबाट बेपत्ता भए । ११ वर्षका सशील रानामगर र १३ वर्षका विशाल रानामगर विद्यालयबाटै बेपत्ता भए । तीमध्ये विशालको शव घना जंगलमा १० दिनपछि फेला पर्‍यो । यो केन्द्रबाट बालक बेपत्ता बनेको पहिलो घटना होइन । गत वर्षको साउन २३ गते २ जना बालक पनि विद्यालयबाटै बेपत्ता भएका थिए ।

संरक्षण केन्द्रमा हुने विभेद, खानपान र बालकप्रति गरिने व्यवहारले बालकहरु संरक्षण केन्द्रबाट भाग्ने गरेको खुलेको छ । कतिसम्म भने बालकहरुलाई गृहकार्य गर्न नमान्दा कुटपिट हुने गरेको छ ।

यस्ता बालबालिकाको र शिक्षाका लागि दातृ निकायले सहयोग उपलब्ध गराउने गर्छन् । तर यस केन्द्रमा बालबालिकाले हेरचाह, पोषिलो खाना नपाएको गुनासो गरेका छन् । संरक्षण केन्द्रबाट हरेक वर्ष बालक हराएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

हराएका ३ जनाको खोजी भैरहे पनि अझै फेला परेका छैनन् । संरक्षण केन्द्रबाट बालक हराए पनि त्यसका सञ्चालकमाथि कारबाही पनि हुन सकेको छैन । संरक्षण केन्द्रमा भइरहेका यस्ता घटनाको गम्भीर अनुसन्धान हुनु जरुरी छ ।


Image

केदार शिवाकोटी

शिवाकोटी कान्तिपुर टेलिभिजनका दोलखा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement