लामो प्रतीक्षापछि अघि बढ्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम

भाद्र १४, २०८१ |राजु चौधरी
लामो प्रतीक्षापछि अघि बढ्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम

चितवन । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य लामो प्रतीक्षापछि अघि बढेको छ । भरतपुर महानगरपालिकाले निकालेको बोलपत्र कबुल गरेको बीबीआर कम्पनीले रंगशाला निर्माणको काम अघि बढाएको हो ।

भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अहिले धमाधम निर्माणको काम चलिरहेको छ । १० हजार दर्शक क्षमताको प्यारापिट थप गर्न अहिले जग हाल्ने काम भइरहेको हो । धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि नै सोलिङका लागि राखेको ढुंगा र अहिले निर्माण कम्पनीले ल्याएको ढुंगा राखेर पीसीसीको सोलिङको काम भइरहेको छ । निर्माण कम्पनीले मैदानको माटो निकाल्न सुरु गरेको छ भने त्यसलगत्तै नयाँ माटो राखिने छ । मैदानमा ५ वटा पीच निर्माण गरिनेछ भने पानी परेको केही समयमै खेल खेलाउन मिल्ने गरी नयाँ प्रविधिमा आधारित मैदान बन्दैछ ।

रंगशालाको दुई किनारमा रहेका टावर निर्माणको काम पनि अघि बढ्दैछ । छुट्टाछुट्टै टिमले एकैपटक दुईवटा टावरको काम गर्नेछन् । जसका लागि टण्डीको कामसँगै टावर निर्माणका लागि अलग्गै कामदारहरु आइसकेका छन् । एउटा टावरमा भीभीआइपी बक्ससँगै प्लेयर बक्स हुनेछ भने अर्को टावरमा मिडिया र कर्पोरेट बक्स रहनेछ । भरतपुर महानगरपालिकाले कामको निरीक्षण गर्न दुई जना इन्जिनियर खटाएको छ । निर्माणको काममा ढिलाइ हुन नदिन कुनै कसर बाँकी नराख्ने महानगरको भनाइ छ ।

रंगशालामा अहिले डेढ सय कामदार खटिएका छन् । काम अघि बढ्दै जाँदा कामदार थपिनेछन् । ३० महिना समयसीमा भित्रै निर्माण सम्पन्न गर्न ३ सिफ्टमा काम गर्ने तयारीमा निर्माण कम्पनी रहेको छ । धुर्मुस सुन्तली फाउण्डेशनले ३० हजार क्षमताको रंगशालाको निर्माण सुरु गरेको थियो । आर्थिक अभावपछि फाउण्डेशनले रंगशालाको स्वामित्व भरतपुर महानगरलाई हस्तान्तरण गरेपछि अहिले तीन तहकै सरकारको समन्वयमा काम अघि बढेको हो । पहिलो चरणमा अहिले अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने गरी १५ हजार क्षमताको मात्रै रंगशालाको निर्माण हुँदैछ । यसको क्षमता पछि बढाउन मिल्नेछ । गत असार २३ गते ३० महिनामा काम सक्ने गरी महानगर र हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच सम्झौता भएको थियो । ७८ करोड ५० लाखमा निर्माणको काम अघि बढेको हो ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement