संसारी माईमा एयरलाइन्स रेष्टुरेन्ट

श्रावण २७, २०८१ |विनोद घिमिरे
संसारी माईमा एयरलाइन्स रेष्टुरेन्ट

धनकुटा । विमानस्थलनै नभएको ठाउँमा हवाइजहाज चढ्न पाइन्छ भन्दा तपाईलाई पत्यार नलाग्दो हो । तर, धनकुटाको पाख्रिबास पुग्नेले यस्तो सुबिधा लिन सक्छन् ।

संसारी माई एयरलाइन्स नाम दिएर हवाइजहाजको स्वरुपमा तयार पारिएको रेष्टुरेन्टभित्र खानपान मात्र नभई, अवलोकन, सानो संख्यामा सभा, भेला, बैठक र मनोरञ्जनात्मक गतिविधि सञ्चालन गर्नपुग्ने ठाउँ छ ।

हवाइजहाज स्वरुपको रेष्टुरेन्ट वरिपरी चिया रोपिएका हरिया डाँडा, मझौला आकारमा टम्म पानी भरिएका दुईओटा पोखरी, पूर्व र पश्चिममा ठडिएका ध्यानमग्न शिव र बुद्ध प्रतिमाले संसारी सीमसारमा सुन्दरता थपेका छन् । 

सीमसार जोगाएर नजिकका पानी मुहान संरक्षण गर्ने उदेश्यले पूर्वाधार व्यवस्थापन सुरु गरिएको यो ठाउँमा स्थानीय समुदाय, स्थानीयतह, प्रदेश र संघीय सरकारको झण्डै दुई करोड रुपैयाँ लगानी भएको छ । मनोरञ्जन र घुमघामसँगै राजनितिक दल, सामाजिक संघसंस्था, प्रशासनिक निकायले समेत महत्वपूर्ण छलफल र बैठकका लागि यही ठाउँ रोज्ने गरेका छन् ।

पाख्रीबासमा आगन्तुकको सुविधाका र मनोरञ्जनका लागि विश्रामालय, वनभोजस्थल र सानो चिडिया घर पनि छ । तर, मुख्य आकर्षण संसारी एयरलाइन्स हो । पाख्रीबास पुगेर तपाई पनि चढ्ने हैन त सन्सारी एयरलाइन्स ?


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।