गाजा पट्टी आफ्नो स्वामित्वमा लिन अमेरिका तयार छ : डनल्ड ट्रम्प

माघ २३, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
गाजा पट्टी आफ्नो स्वामित्वमा लिन अमेरिका तयार छ : डनल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ । २० जनवरीमा दोस्रो पटक ह्वाइट हाउसमा पुनरागमनपछि पहिलो पटक विदेशी नेतासँग ट्रम्पको भेटवार्ता भएको हो ।

भेटवार्ताको क्रममा दुवै शीर्ष नेताबीच इजरायलको हमाससँग भएको युद्धविराम र गाजाको भविष्यबारे महत्त्वपूर्ण छलफल भएको बताइएको छ । भेटवार्तापछि ट्रम्पले नेतान्याहूसँगको संयुक्त पत्रकार सम्मेलनमा अमेरिकाले गाजा पट्टी नियन्त्रण गर्ने र त्यस क्षेत्रका विकास गर्ने बताउनुभएको छ । साथै अमेरिकाले गाजा पट्टीको दिर्घकालीन स्वामित्व राख्ने ट्रम्पको भनाइ छ । प्यालेस्टाइनलाई राज्यको मान्य दिने वा नदिने विषयमा ट्रम्पले कुनै प्रतिक्रिया दिनुभएन।

ट्रम्पले भत्किएका भवनहरूको पुनर्निर्माण गर्दै आर्थिक विकासको सिर्जना, असीमित संख्यामा रोजगारी र आवास प्रदान गर्नेबताउनुभएको छ ।

ट्रम्पले गाजा ‘अन्तर्राष्ट्रिय क्षेत्र’ हुने स्पष्ट पार्दै अमेरिकाले पुनर्निर्माण पूरा गरेपछि विश्वभरका मानिसहरू गाजामा बस्ने सक्ने आश्वासन दिनुभएको छ । बसोबास गर्नेमा प्यालेस्टिनी पनि हुन सक्ने उहाँको भनाइ छ ।

यस्तै प्यालेस्टिनीसँग कुनै विकल्प नरहेको कारण उनीहरुलाई अन्य मुलुकमा शरण लिन समेत ट्रम्पले बताउनुभएको छ । तर, उहाँको प्रस्तावलाई यसअघि नै पाँच वटा अरब राष्ट्रले अस्वीकार गरिरसकेका छन् ।

यसैबीच ट्रम्पले इरानी तेल निर्यातलाई शून्यमा झार्ने गरि आक्रमण प्रतिबन्ध लगाउने र इरानी शासनमाथि अधिकतम दबाब नीति पुनर्स्थापित गर्ने गरी कदम चाल्ने बताउनुभएको छ । यस्तै नेतान्याहूले ट्रम्पको प्रशंसा गर्दै अमेरिका इजरायलको सबैभन्दा ठूलो मित्र भएको बताउनुभयो । नेतन्याहूले ट्रम्पको गाजा योजनाले ‘इतिहास परिवर्तन’ गर्ने समेत स्पष्ट पार्नुभयो ।

गाजावासीलाई विस्थापित गर्ने ट्रम्पको योजनाले आरजकता निम्तिने सक्ने भन्दै हमासले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । यस्तै साउदी अरबले प्यालेस्टाइनलाई राज्यको मान्यता नदिइए इजरायलसँग सम्बन्ध विस्तार हुन नसक्ने बताएको छ ।



Enter Kantipur TV HD
Advertisement