हावाहुरी-असिनाले झापामा डेढ अर्बको मकै नष्ट, बीमा अभावले किसान मारमा

वैशाख ५, २०८३ |गणेशमान मुखिया
हावाहुरी-असिनाले झापामा डेढ अर्बको मकै नष्ट, बीमा अभावले किसान मारमा

झापा । झापामा गत चैत्रको हावाहुरी, वर्षा र असिनाले डेढ अर्ब रुपैयाँको मकैबाली नष्ट गरेको छ। 

बाली बीमामा देखिएको समस्याले किसानले क्षतिपूर्ति पाउन सक्दैनन्। किनभने बढी उत्पादनको आशामा किसानले भारतीय बीउ रोप्छन्। तर, बीमा कम्पनीहरूले नेपालमा दर्ता भएका बीउ रोप्ने किसानको मात्रै बीमा गर्ने गरेका छन्। त्यसैले किसानले सम्पूर्ण हानी नोक्सानी ब्यर्हानुपर्ने अवस्था छ।

झापा गाउँपालिका चौबाटो चौकका नवीन भण्डारी आफ्नो साढे तीन बिघा र ५ बिघा लिजमा लिएर मकै खेती गर्नुहुन्छ। गत वर्ष मकैको आम्दानीले १७ लाख खर्चेर ट्याक्टर किन्नुभयो। तर, यो वर्ष लगानी नै उठ्ने देखिँदैन । हावाहुरी र असिनापानीले ५ विघाको मकै पूर्ण र बाँकीमा आंशिक क्षति गर्‍यो। 

बाली बीमा हुन नसक्दा नोक्सानी ब्यहोर्नुको विकल्प छैन। झापा गाउँपालिकालाई सरकारले मकै जोन घोषणा गरेको छ। जहाँ करिब ३४ सय हेक्टरमा मकै खेती हुने गरेको छ । हावाहुरी र असिनापानीले सबैभन्दा बढी क्षति पनि मकै जोनमै गरेको छ। राहत पाउने आशा नभएकाले मल बीउ र मिहिनेत मात्रै खेर गएको किसान बताउँछन्।

जिल्लाका १५ मध्ये ११ वटा पालिकाको १० हजार २ सय हेक्टरको मकै बाली नष्ट भएको हो । झापा गाउँपालिकामा मात्रै ४५ करोड रूपैयाँको मकै नष्ट भएको छ। सरकारी कार्यालयसाग राहत दिने रकम छैन। बाली बीमामा समस्या छ। उत्पादकत्व बढी दिने भन्दै किसानले भारतीय बीउ प्रयोग गर्छन्। तर, बीमा कम्पनीले नेपालमा सूचीकृत बीउको मात्र बीमा गर्ने हुनाले समस्या भएको सरकारी कर्मचारी बताउँछन् ।

झापामा ४६ हजार हेक्टरमा मकै खेती हुने गरेको छ । गत वर्ष १२ अर्ब रुपैयाँको कारोबार भएको थियो । हावाहुरी र असिनापानीका कारण यो वर्ष एकतिहाइ उत्पादन घट्ने आकलन छ ।


Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।