काठमाडौं । टिकटक, रेडिटसहितका सामाजिक सञ्जालबाट सुरु भएको अभियानले साेमबार दिनभर काठमाडौंको बानेश्वर क्षेत्र अस्तव्ययस्त रह्यो । साेमबार बिहानै देखि के-के भयो ?
केही दिनदेखि टिकटक, रेडिटसहितका सामाजिक सञ्जालमा भ्रष्टाचारविरूद्ध नेपो किड र नेपो बेबिज ट्रेन्ड भएको थियो । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै यो ट्रेन्डले झन् गति लियो र अभियानमा सामाजिक सञ्जाल बन्दको विरोध सामेल गरियो ।
अभियानमा सामेल युवाहरूले डिजिटल विरोधलाई चर्काउँदै भौतिक प्रदर्शन गर्ने निर्णय गरे, जसका लागि रोजियो माइतीघर र नाम दिइयो 'सेप्टेम्बर एट अन माइतीघर' । प्रशासनले माइतीघरमा प्रदर्शन गर्ने अनुमति पनि दियो ।
तर, आइतबार दिनभर युवाहरूको प्रदर्शनलाई समर्थन गर्नेहरू एकाएक बढ्न थाले, जसमा राजनीतिक दलका नेतादेखि अभियन्तासम्म मिसिए । काठमाडौंका कोही ठाउँमा प्रदर्शनको रिहर्सल गरिएका तस्बिरसमेत सार्वजनिक भए ।
यति हुँदा प्रहरी, प्रशासन र सरकारले यसलाई सामान्य रूपमा लियो । युवाहरू सोमबार बिहान ९ बजे नै माइतीघरमा जम्मा भए । १० बज्दा नबज्दै प्रदर्शनकारीको भीडमा विभिन्न स्कुल, कलेजका विद्यार्थीहरु पोशाकमै जम्मा भएका देखिए ।
साढे १० बजे सुरू भएको र्याली ११ बजे बानेश्वरको निषेधित क्षेत्रसम्म आइपुग्दा शान्त नै थियो । प्रहरी पनि संयमित नै थियो । जब प्रदर्शनकारीहरू प्रहरीको ब्यारिकेड तोडेर अगाडि बढे, स्थिति एकाएक बिग्रन थाल्यो । युवाहरू संसद् भवनको गेटअगाडि पुगेर प्रदर्शन र नाराबाजी गर्नुका साथै केही प्रदर्शनकारी संसद् भवनभित्रसमेत प्रदर्शन गरे ।
प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । यसपछि सुरक्षाकर्मीको दमन पनि सुरू भयो । जिल्ला प्रशासन कार्यालयले साढे १२ बजे बानेश्वर, तीनकुने, शंखमुल क्षेत्रमा राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गर्यो भने प्रधानमन्त्री तथा राष्ट्रपति कार्यालयजस्ता संवेदनशील क्षेत्रमा पनि कर्फ्यू जारी गरियो ।
तर, कर्फ्यू आदेशको बेवास्ता गर्दै प्रदर्शनकारीले दिनभर लगातार प्रदर्शन गरे ।