बागलुङ । संस्कृति संरक्षणसँगै विद्यार्थीलाई सीपसँग जोड्न बागलुङको बडिगाड गाउँपालिका स्थित त्रिभुवन माध्यामिक विद्यालयले पञ्चेबाजा बजाउने सीपको शिक्षा दिन थालेको छ।
विद्यालयले पाठयक्रमका अतिरिक्त रैथाने सीप विद्यार्थीलाई सिकाउन थालेको छ। बागलुङको बडिगाडमा रहेको त्रिभुवन मा.वि.ले पाठयक्रमका अतिरिक्त गाउँघरमा प्रयोग गरिने सीप शिक्षा अनुसारको पञ्चेबाजाको पढाइ सञ्चालन गरेको छ। संगीत शिक्षा अनुसार सनाइ, कर्नाल, दमाहा, मादल, बाासुरी, झ्याली र टयाम्को जस्ता बाजा बनाउने शिक्षा दिन थालेको छ।
यसबाट विद्यार्थीले पुख्यौली पेसा र संस्कृतिको संरक्षणमा आफ्नो क्षमता पहिचान गरी भविष्यमा रोजगारी सिर्जना गर्न सक्ने बनेका छन् । विद्यालयले एक लाख २५ हजार लगानी गरेर बाजा खरिद गरी समूहगत रूपमा प्रशिक्षणमार्फत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीलाई पञ्चेबाजा बनाउन शिक्षा प्रदान गरेको छ ।
एक हजार १ सय ८७ जना विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयमा संगीत शिक्षाका साथै प्राविधिक धारअन्तर्गत बालि विज्ञानका साथै साधारणतर्फ अंग्रेजी र नेपाली माध्यमबाट पढाइ सञ्चालन गर्दै आएको छ । विद्यार्थीमा लुकेको सीप विद्यालयले उजागर गरेपछि अभिभावकसमेत खुसी भएका छन् ।
पढाइसँगै अन्य सीपमुलक शिक्षा पनि सञ्चालन भएपछि विद्यार्थीमा समेत उर्जा बढेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालले बताउनुभयो । बाध्यबाधनको शिक्षाले सीप प्रयोग हुने मात्र नभइ विद्यालय छोडेका बालबालिका पनि नियमित आउन थालेका छन्।
त्रिभुवन मा.विसहित बागलुङका अन्य सामुदायिक विद्यालयले पनि बालबालिकालाई पञ्चेबाजा बजाउन सिकाउने शिक्षा प्रदान गरी संरक्षणका लागि सक्रियता बनेका छन्।