भक्तपुर । अन्तरिक तथा वाह्य पर्यटन प्रवर्धन गर्ने उद्देश्यले नगरकोट भ्रमण वर्ष २०८२ आजदेखि सुरु भएको छ । नगरकोट भ्रमण वर्षको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभयो ।
नगरकोट भ्रमण वर्षको उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले भन्नुभयो, ‘पर्यटन, कृषि, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड हो । यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्नु राज्यको दायित्व हो ।
राष्ट्रपति पौडेलले रोजगारीका अवसर सिर्जना, लगानीयोग्य वातावरण निर्माण, उत्पादनको लागत घटाएर प्रतिस्पर्धा प्रवर्धन गरी औधोगीकरणलाई बढावा दिनु पनि जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा संस्कृती तथा पर्यटन मन्त्री बद्री पाण्डेले भ्रमण वर्षले नगरकोटलाई मात्रै जगाउने नभई सिंगो राष्ट्रको अर्थतन्त्रलाई मजबुद बनाउने बताउनुभयो । उहाँले देशको आर्थिक बृद्धिदर उकास्न निजी क्षेत्रको लगानी बढाउने वातावरण बताउन तीन तहकका सरकार क्रियाशील रहेको जनाउनु भयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन भ्रमण वर्षले आर्थिक, समाजिक र पर्यटन क्षेत्रमा योगदान पुग्ने बताउनु भयो ।
नगरकोट भ्रमण वर्ष भक्तपुरको चाँगुनारायण नगरपालिका, काभ्रेको मण्डनदेउपुर र बनेपा नगरपालिका तथा काठमाडौंको शंखरापुर नगरपालिकाको संयुक्त आयोजनामा भएको हो । भ्रमण वर्षमा एक वर्षभरि नै चार वटै नगरपालिकाभित्र विभिन्न कार्यक्रमहरु हुनेछन् ।
तीन दिनसम्म चल्ने भ्रमण वर्ष उद्घाटन कार्यक्रममा ५० भन्दा बढी स्टल, स्थानीय कृषि उत्पादन, फुड स्टल, झाँकी प्रदर्शनी र चित्रकला प्रदर्शनी राखिएका छन् । एक सय जना कलाकारले नगरकोटका सम्पदालाई क्यानभासमा उतार्नेछन् ।
नगरकोटलाई पर्यटकीय क्षेत्रका रूपमा घोषणा गराउने उद्देश्यले पनि भ्रमण वर्षको आयोजना गरिएको हो । भ्रमण वर्षभर कम्तिमा १० लाख आन्तरिक र १ लाख वाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । होटल व्यवसायीहरुले वैशाख १ देखि ३ गते सम्म १५ प्रतिशत र पूरै भ्रमण वर्षभरि १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।
चार वटै पालिकाभित्रका पदमार्ग तथा सडक स्तरोन्नति, होमस्टे विस्तार, सिधा बस सेवा, कला संग्राहालय स्थापनाजस्ता प्रयासहरुबाट नगरकोट भ्रमण वर्ष २०८२ लाई थप प्रभावकारी बनाइने बताइएको छ ।