कोशी 'पर्यटन वर्ष २०८२' को तयारी पूरा : धार्मिक स्थल, पदमार्ग र हिमाली क्षेत्रमा पर्यटक बढाउने लक्ष्य

चैत्र २६, २०८१ |सुशीला पाठक
कोशी 'पर्यटन वर्ष २०८२' को तयारी पूरा : धार्मिक स्थल, पदमार्ग र हिमाली क्षेत्रमा पर्यटक बढाउने लक्ष्य

मोरङ । कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को तयारी पूरा गरेको छ । पर्यटन वर्षको यही चैत २७ गते लालीगुराँसको राजधानी वसन्तपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेशका पर्यटकीय स्थल, साहसिक खेल, पदमार्ग तथा हिमालको प्रचारप्रसार गरी आर्थिक रुपमा समृद्ध बनाउने उद्देश्यले पर्यटन वर्ष मनाउन लागिएको हो । पर्यटन वर्षका लागि प्रदेश सरकारले ८२ वटा गन्तव्य प्रस्ताव गरेको छ ।

कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ का लागि ८२ वटा नै गन्तव्य प्रस्तावित गरेको हो । विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा रहेकामा कोशी प्रदेशमा मात्रै ५ वटा छन् । पर्यटन वर्षमार्फत यी हिमालमा धेरै पर्यटक भित्र्याउने लक्ष्य प्रदेश सरकारको छ । 

यसबाहेक भारतबाट आउने पर्यटकलाई सहज रुपमा नेपाल भित्र्याउन एकीकृत जाँच प्रणाली अगाडि बढाएको छ भने पर्यटक स्टिकरको व्यवस्था मिलाएको छ । पर्यटनमा आधारित पदमार्ग निर्माण गरी प्रदेशका धार्मिक स्थल, साहसिक खेल तथा हिमालको प्रचारप्रसार वर्षभरि नै गरी आर्थिक रुपमा समृद्ध बनाउने योजना रहेको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले बताउनु भयो ।

प्रदेशका इलाम, सन्दकपुर, रोङ, कोशी गाउँपालिका, खुम्बु पासाङ ल्हामू गाउँपालिका, भेडेटार क्षेत्र, टेम्के मैंयु, साल्पा सिलिचो, बराहक्षेत्र, रामधुनी, धरानलगायत कैयौं पालिकाले पर्यटन प्रवर्द्धन र विकासका काम अगाडि बढाएका छन् । पालिकाहरुको पर्यटन क्षेत्रमा थप क्षमता विकास गर्न संघ सरकारसँगको सहकार्यका लागि प्रदेशले पुलको काम गर्ने योजना प्रदेश सरकारको छ । बढीभन्दा बढी पर्यटक भित्र्याएर रोजगारी र आर्थिक क्रियाकलाप अगाडि बढाउने लक्ष्य रहेको कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताउनु भयो ।

व्यवसायीहरुले पनि पर्यटकीय क्षेत्रको बजारीकरण र ब्रान्डिङ गर्दै थप नयाँ पर्यटकीय गन्तव्यको पहिचान गरे पर्यटन वर्ष फलदायी हुनेमा विश्वास जनाएका छन् । प्रदेशमा ४ वटा पाँच तारे होटल सञ्चालनमा छन् भने थप ४ वटा सञ्चालनको तयारीमा छन् । यस्तै, १ सय ४ वटा होमस्टे दर्ता भई सञ्चालनमा छन् ।

होटल व्यवसायी राजन श्रेष्ठ भन्नुहुन्छ, 'प्रदेशबासी र सरोकारवालाबीचको सहकार्यले पर्यटन वर्ष सफल हुनेमा आशावादी छौं ।'

कोशी प्रदेश सरकारले 'कोशीको गौरव, हिमालको शान, पर्यटन वर्षमा सबैको सम्मान' नारासहित लोगो र मस्कटसमेत सार्वजनिक गरिसकेको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।