लुक्लाको मौसम खुलेसँगै बिहानैदेखि मन्थली-लुक्ला उडान शुरू

चैत्र २४, २०८१ |नवराज श्रेष्ठ
लुक्लाको मौसम खुलेसँगै बिहानैदेखि मन्थली-लुक्ला उडान शुरू

रामेछाप । सोलुखुम्बुस्थित लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैबाट मन्थली-लुक्ला उडान शुरू भएको छ । वसन्त ऋतुको सिजन शुरू भएपछि गत बिहबिार एकाएक लुक्लाको मौसममा खराबी आउँदा मन्थली-लुक्ला उडान रोकिएको थियो ।

लुक्ला विमान उडान हुन नसकेपछि बिहीबार दिउँसोबाट रामेछापको मन्थलीमा रोकिएका ५ सय भन्दा बढी पर्यटकलाई हेलिकोप्टरबाट लुक्ला र विमानमार्फत फाप्लु लान थालिएको थियो ।

चार दिनपछि लुक्लाको मौसम खुलेसँगै आइतबार बिहानैदेखि मन्थली-लुक्ला उडान भइरहेको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले बताउनुभयो । आइतबार बिहानैदेखि उडान शुरू भएकोमा अहिलेसम्म आधा दर्जन उडानमार्फत् ८० जना भन्दा बढी पर्यटक लुक्ला पुगिसकेका उहाँले बताउनुभयो ।

नागरिक उड्डयन प्राधिकरणले सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका पर्यटकलाई दुई सिजनमा मन्थली विमान स्थलको प्रयोग गरी गन्तव्यसम्म पुर्याउने गरेको छ । (वसन्त ऋतु)को चैतदेखि जेठ महिनासम्म र (शरद ऋतु)को असोज पहिलो सातादेखि मङ्सिरको १५ सम्म मन्थली विमानस्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ । 

बिहानैदेखि मौसम राम्रो भएको समयमा एकै दिन ६० वटा भन्दा बढी उडानमार्फत ८५० जनासम्म पर्यटक लुक्ला पुग्ने गरेका छन् ।


Image

नवराज श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका रामेछाप संवाददाता हुन् ।