काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकमा राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको भन्दा फरक विषय लगेर संसद्बाट पारित गराएपछि सांसदहरुले समिति सभापतिको राजीनामा र छानबिनको माग गरेका छन् ।
कर्मचारीको कुलिङ पिरियडका विषयमा समितिबाट पारित गरिएको भन्दा फरक विषय सदनबाट पारित गरिएको विषयलाई लिएर सभामुख देवराज घिमिरेले गरेको छलफलमा सांसदहरुले छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कुलिङ अफ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिनुभयो । संसदीय समितिबाट पारित भएको भन्दा फरक शब्द विधेयकमा राखिएकाले यसमा नियतवश हेरफेर गरिएको उहाँको आरोप छ ।
नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भीर षडयन्त्रको संज्ञा दिनुभयो । यस्तो कार्यमा सलंग्नले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने र कारबाही भोग्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसका हृदयराम थानी र नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डले पनि संसदीय समितिमा भएको सहमतिभन्दा बाहिर गएर विधेयक तयार पार्नेलाई कारबाही गर्न माग गर्नुभयो ।
राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले समितिबाट सर्वसम्मत पास भएको विधेयकमा एउटा दफा नै थपिएको बताउनुभयो । यो कस्को गल्तीबाट भएको हो त्यसको छानबिन गरी कानुनको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ छ । यसबारे सभामुखलाई समेत भनिसकेको उहाँले बताउनुभयो ।
संघीय निजामती ऐनमा रहेको कुलिङ पिरियडबारे समितिले पास गरेको विषयभन्दा बाहिर गएर विधेयक पारित भएपछि यो विषयमा विवाद बढेको हो । यही विषयमा विवाद भएपछि आजका लागि बोलाइएको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकसमेत स्थगित भएको छ ।