जावलाखेलको चिडियाखाना वन्यजन्तुका लागि साँघुरो, खुला उद्यान बनाउने सरकारी योजना अलपत्र

पुस १४, २०८१ |विकास आचार्य
जावलाखेलको चिडियाखाना वन्यजन्तुका लागि साँघुरो, खुला उद्यान बनाउने सरकारी योजना अलपत्र

काठमाडौं । वन्यजन्तु संरक्षण, आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनदेखि अध्ययन र मनोरञ्जनका लागि विश्वव्यापी रुपमा चिडियाखाना निर्माण गर्ने अभ्यास छ । नेपालमा वन्यजन्तुको सार्वजनिक प्रदर्शनका लागि ललितपुरको जावलाखेलमा चिडियाखाना छ । तर ६ हेक्टरको साँघुरो ठाउँमा सयौं वन्यजन्तु कोचेर राखिएको छ । खुला उद्यान बनाउने सरकारी योजना नभएका होइनन् । भक्तपुरको सूर्यविनायक होस् या तनहुँमा बनाउने भनिएको चिडियाखाना निर्माणका योजना अलपत्र छन् ।

खुला रुपमा हिँडडुल गर्ने वन्यजन्तुलाई साँघुरो ठाँउमा कोचेर राख्न हुँदैन । यही मान्यताबमोजिम खुला चिडियाखानको अवधारणा आएको हो । जहाँ वन्यजन्तु खुला हुन्छन् भने अवलोकनकर्ता बन्द कोठा वा सवारीमा । नेपालमा पनि वन्यजन्तुको असहजतालाई मध्यनजर गरी सरकारले खुला उद्यान निर्माणको योजना अघि सार्‍यो । तर, बनाउने भनिएका आधा दर्जन योजनाकै भौतिक प्रगति टिठलाग्दो छ । यसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ असार ९ गते शिलान्यास गरेको भक्तपुरको सूर्यविनायकस्थित राष्ट्रिय प्राणी उद्यानसमेत अलपत्र छ । २ वर्षमा निर्माण सक्ने लक्ष्यसहित शिलान्यास गरिएको यो उद्यान केन्द्रमा अहिलेसम्म १७ करोड रुपैयाँ खर्च भइसकेको छ । कार्यालयका २२ जना कर्मचारी पनि फुर्सदमा छन् । हालै सकिएको डीपीआरमा १४ अर्ब लागत अनुमान गरिएको छ । भक्तपुरका सांसद दर्लभबहादुर थापा भने छिटोभन्दा छिटो निर्माण सक्न र वन्यजन्तुलाई खुला ठाउँमा स्थानान्तरण गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

तनहुँमा नेपालकै ठूलो चिडियाखाना बनाउने योजना पनि अलपत्र छ । छिर्केनीभञ्ज्याङ वन क्षेत्रमा २०७३ सालबाटै प्राणी उद्यान निर्माण प्रक्रिया थालिएको थियो । ४ सय २५ हेक्टर क्षेत्रफलमध्ये ९ सय ३६ रोपनी जमिन निजी हो । ‘स्थानीयले जमिनको ४६ करोड मुआब्जा अहिलेसम्म पाएका छैनन् । स्थानीयले आफ्नो जग्गा र वन नै उपभोग गर्न पाएका छन् । खुला ठाउँमा वन्यजन्तुको संरक्षणका लागि यस्ता योजना छिटो सक्नुपर्छ,’ वन्यजन्तु संरक्षक अभियान्ता घनश्याम गुरुङले बताउनुभयो ।

ललितपुरको सदर चिडियाखानामा हाल १ सय १९ प्रजातिका १४ सय ६ वटा वन्यजन्तु छन् । जसमा ४० प्रजातिका स्तनधारी, ६० प्रजातिका पन्छी, ११ प्रजातिका सरिसृप र माछा छन् । दैनिक ३ हजार र बर्सेनि सरदर ११ देखि १२ लाख आगन्तुकले अवलोकन गर्ने सदर चिडियाखानाले वार्षिक ६ करोड आम्दानी गरिरहेको छ । वन्यजन्तुको आहारा र अन्य प्रशासनिक खर्चमा बर्सेनि करिब ३ करोड खर्च हुन्छ । आम्दानी त राम्रै छ तर खुला रुपमा हिँडडुल गर्ने वन्यजन्तुलाई ठाँउ अभावमा कोचिएर बस्नुपरेको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले बताउनु भयो ।

१४ सयभन्दा बढी वन्यजन्तुलाई ६ हेक्टर जमिनमा कोचेर राख्नुको विकल्पमा ल्याइएको खुला चिडियाखाना बनाउने अवधारणामा मन्त्रालय भने बजेट अभाव देखाएर असम्भव बताइरहेको छ ।

पर्या-पर्यटनको विकासका लागि पनि चिडियाखाना अपरिहार्य छ । सरकार आफैँले घोषणा गरेका आयोजनालाई प्राथामिकतामा नराख्दा वन्यजन्तुसहित नागरिकले पनि सास्ती बेहोर्नुपरेको छ ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement