पोखरामा हट एयर बेलुनले लोभ्याउँदै पर्यटक

मंसिर २४, २०८१ |इन्द्र पौडेल|भुपाल गुरुङ
पोखरामा हट एयर बेलुनले लोभ्याउँदै पर्यटक

कास्की । पोखरा साहसिक खेलकुदको हब मानिन्छ । प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँदै आएको पोखरामा प्याराग्लाइडिङ, जिपफ्लायर, बञ्जिजम्प, अल्ट्रालाइट, क्यानोनिङ्ग, र्‍याफ्टिङ्गलगायत सञ्चालनमा छन् । हट एयर बेलुनले पोखरालाई साहसिक खेल पारखीको उत्कृष्ट गन्तव्य बनाउँदै गएको छ । सामूहिकरूपमा हावामा उड्दै सुन्दर तस्बिरहरु खिच्न पाइने भएकाले हट एयर बेलुन पर्यटकको रोजाइमा पर्ने गर्दछ ।

बेलुन आकारमा देखिने यो 'इनेभेलप' भित्र पङ्खाले हावा भरिन्छ । बेलुन आकारमा गएपछि ग्यासबाट आगो बालेर उक्त हावालाई तताइन्छ, तातो हावाका कारण बेलुनले उचाइ लिन्छ र हावाको गति नियन्त्रण गर्दै पाइलटले उडान गर्छन् । 

एक्काइस मिटर अग्लो बेलुनको तल्लो भागमा ३२ वर्ग मिटरको बास्केट जडित छ । समुद्र सतहबाट तीनदेखि चार हजार मिटर उचाइसम्म उड्न सकिने बेलुनबाट पोखरा र आसपासका सुन्दर हिमशृङखलाको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकको रोजाइमा पर्ने गर्छ ।

सूर्योदय मन पराउने बिहान र सूर्यास्त मन पराउने साँझ उड्ने गर्छन् । दिउँसो हावाको वेग बढी हुने भएकाले बिहान र साँझतिरको समय हट एयर बेलुनका लागि उपयुक्त मानिन्छ । हट एयर बेलुनको व्यावसायिक उडान हरेक बिहान फेवातालको माथिल्लो भेग लौरुक र बेलुका पामेबाट हुँदैआएको छ । आधा घण्टा उडानका लागि नेपालीलाई ११ हजार, चीन र सार्क राष्ट्रका लागि एक सय ३० डलर र अन्य विदेशी पर्यटकका लागि एक ५० डलर शुल्क तोकिएको छ । विशेष अवसरमा रिजर्भ गरी प्राइभेट उडानसमेत गर्न सकिन्छ । 

अहिले बेलुन नेपाल कम्पनीसँग तीनवटा छुट्टाछुट्टै भारवहन क्षमताका हट एयर बेलुन छन् भने त्यसमा ५, ८ र १२ जनाले उडान गर्न सक्छन् । गत वर्ष पोखरामा २ हजार ४ सय पर्यटकले बेलुन उडानको आनन्द लिएका थिए ।

असार, साउन र भदौबाहेक हरेक महिना मौसम अनुकूल भएको दिन उड्न सकिन्छ । हट एयर बेलुनमा उड्ने पर्यटकलाई कम्पनीले प्रतिव्यक्ति २० हजार डलर बराबरको बीमा गरेका छन् । पाइलट र प्राविधिकहरूले बेलुनका सबै भागहरूको निरीक्षणपश्चात् हावा, मौसम र दिशा नियन्त्रण गर्दै बेलुनलाई सुरक्षितरूपमा उडान गर्दछन् ।

पोखरामा सन् २०१८ देखि हट एयर बेलुनको उडान सुरु भएको हो । यसैबीच यही डिसेम्बर २४ देखि जनवरी १ सम्म पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव आयोजना हुँदैछ यस थप पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ । 


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।

Image

भुपाल गुरुङ

गुरुङ कान्तिपुर टेलिभिजनका कास्की संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement