
कपिलवस्तु । प्रकृतिको कुचिकार मानिने डङ्गर गिद्धको सङ्ख्या नेपालमा बढेको छ ।
विश्वकै दुर्लभ डङ्गर गिद्धको सङ्ख्या बढाउने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको हो । पन्छी संरक्षण संघ- बीसीएनको नेतृत्वमा तीन विदेशीसहित १० जना कन्जर्भेसन साइन्टिस्ट, विज्ञ र विशेषज्ञको समूहले गत जुलाईमा प्रकाशन गरेको अनुसन्धान प्रतिवेदनमा समुदायमा सचेतना र राम्रो संरक्षण प्रयासले नेपालमा गिद्ध बढेको उल्लेख छ ।
यो तथ्यले शनिबार अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा संरक्षणकर्मीहरूलाई खुसी दिएको छ । अन्तर्राष्ट्रिय जर्नल अफ एभियन साइन्स् आईभीआईएफमा प्रकाशित रिपोर्टमा नेपालमा सन् २००२ देखि २०१२ सम्म ९१ प्रतिशत डङ्गर गिद्ध मासिएको उल्लेख छ ।
त्यसैले डङ्गर गिद्धलाई नेपालमा अति संकटापन्न पन्छीमा राखियो । २०१२ सम्म घटिरहेको गिद्धको सङ्ख्या त्यसपछि भने विस्तारै बढ्नथालेको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या प्रत्येक वर्ष औसत १२ दशमलव ७ प्रतिशतले बढेको छ ।
यो वृद्धि सन् २०२५ सम्मै जारी छ । राजमार्ग र सडक आसपासका वन जङ्गलका अग्ला रूखमा नियमितरूपमा गिद्ध अनुगमन, गणना तथा गुडको निगरानीबाट उक्त निष्कर्ष निकालिएको हो । डङ्गर गिद्ध लोप हुने प्रमुख कारणमा पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो ।
संरक्षणकर्मीको पहलमा सरकारले ०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगायो । समुदायमा गिद्धको महत्व बताउँदै सचेतना, सरकार, संरक्षण संस्था, समुदाय र अनुसन्धानकर्ता बीचको सहकार्यले गिद्ध संरक्षण हुँदै सङ्ख्या बढन थालेको हो ।
त्यससँगै जटायु रेष्टुरेन्ट सञ्चालन, बासस्थान संरक्षण र अन्य हानिकारक औषधिको प्रयोगमा न्यूनीकरणजस्ता काम पनि भए । उक्त अनुसन्धानमा ७० वटा डङ्गर गिद्धलाई ट्याग लगाएर निगरानी गरिएकोमा वयस्क डङ्गर गिद्धको वार्षिक बाँच्ने दर करिब ९५ प्रतिशत पाइएको थियो, जुन निकै राम्रो हो ।
डङ्गर गिद्ध पाइने दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश र पाकिस्तानमध्ये नेपालबाहेक अन्य देशमा यसको सङ्ख्या स्थिर छ । । भारतमा सन् १९९२ देखि २००७ सम्म गरिएको राजमार्ग टान्सेक्ट सर्भेबाट डङ्गर गिद्धको सङ्ख्या करिब ९८ प्रतिशत घटेको पाइएको थियो ।
त्यस्तै पाकिस्तानमा ९५ प्रतिशतभन्दा बढी र बंगलादेशमा ९९ प्रतिशतभन्दा बढीले घटेको थियो । दक्षिण एसियामा नेपालले गिद्ध संरक्षणको नमुना काम गरेर सङ्ख्या उकासेको छ जुन अन्य मुलुकका लागि सिकाइ हुनसक्छ । सन् २००७ देखि २०२५ सम्म नेपालभर डङ्गर गिद्धका ६ हजार ४१० वटा गुड अनुगमन गरिएको छ ।
अनुगमनले प्रजनन् सफलता दर ६९ प्रतिशत देखाएको छ । २०१३ देखि २०२५ को अवधिमा डङ्गर गिद्धको सङ्ख्या सुधार हुँदा संरक्षणकर्मी उत्साहित भएका छन् । ठूलो सङ्ख्यामा देखिने र व्यापक विचरण क्षेत्र हुँदा अन्य गिद्धभन्दा डङ्गरको महत्व छ । यो गिद्ध तराईका समथर फाँटदेखि मध्यपहाडसम्म देखिन्छ ।
गिद्ध शिकारी चरा भए पनि आफैं शिकार नगरी मरेका जनावरको सिनो खाई वातावरणलाई प्रदूषित हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।