सिजनमा पनि किन देखिएन विदेशी पर्यटकको चहलपहल ?

पर्यटनको राजधानी पोखरामैसमेत देखिँदैनन् पर्यटक
आश्विन ११, २०८१ |जिल्ला ब्युरो
सिजनमा पनि किन देखिएन विदेशी पर्यटकको चहलपहल ?

काठमाडौं । सेप्टेम्बर-नोभेम्बरलाई नेपालमा दोस्रो पर्यटकीय सिजन मानिन्छ । यो बेला पर्यटकीयस्थलहरुमा विदेशी पर्यटकको चहलपहल हुनुपर्ने हो तर पर्यटनको राजधानी पोखरामैसमेत खासै पर्यटक देखिँदैनन् ।

पोखराका मध्यमस्तरका होटेलको अकुपेन्सी अहिले ३० देखि ४० प्रतिशतसम्म छ । ठूला र चल्तीका होटेलको अग्रिम बुकिङ सन्तोषजनक रहे पनि मध्यमस्तरका होटेलमा पाहुना छैनन् । त्यो पनि अघिल्लो सिजनकोजस्तो नरहेको व्यवसायी बताउँछन् । जोखिमपूर्ण सडक यात्रा, पछिल्लो समय भएका हवाइ दुर्घटनाले पर्यटक आगमनमा असर परेको पर्यटन आाकलन व्यवसायीको छ ।

पोखरामा सार्क राष्ट्रसँगै अमेरिका र युरोपका पर्यटक धेरै आउँछन् । आधिकारिक नभए पनि नेपाल आउने विदेशी पर्यटकमध्ये ४० प्रतिशतले पोखराको भ्रमण गर्ने अनुमान छ । तर बसाइँ औसत दुई दिनमात्र छ । पदयात्रा र हिमाल आरोहणम जाने पर्यटक पोखरालाई ट्रान्जिटमात्रै बनाउँछन् । पोखराबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा र नेपालगञ्जबाट सीमित संख्यामा क्षेत्रीय उडान भइरहेको छ ।

पर्यटन व्यवसायीले सन् २००६ यता हरेक वर्ष पटना, लखनउ, गोरखपुर कानपुर, बनारस, इलाहाबाद र फैजाबाद सहरमा पुगेर 'चलिये पोखरा' अभियान सञ्चालन गर्दै आएका छन् । पर्यटनको राजधानी घोषणासँगै पोखराको पर्यटन क्षेत्र थप चलयमान हुने विश्वास गरेका व्यवसायी सिजनकै बेलामा पर्यटक नहँदा चिन्तित छन् ।

विश्वमा रहेका करिब एक अर्ब बौद्धमार्गको आस्थाको केन्द्र हो लुम्बिनी । बुद्धका अनुयायीमात्रै नभई अरु पनि लुम्बिनी घुम्न चाहन्छन् । तर, गएको नौ महिनामा मात्र ६ लाख पर्यटक लुम्बिनी घुम्न आएका छन् । कोरोना महामारीअघि वाषिर्क १६ लाखको हाराहारीमा पर्यटक घुम्न आउँदथे । लुम्बिनी विकास कोषले त्यहााको पर्यटनलाई गतिशील बनाउन कुनै रणनीति नै बनाएको छैन ।

हुन त बौद्धमार्गी देशहरुमा हवाई सञ्जाल बढाउने, अन्तर्राष्ट्रिय बुद्धिस्ट सर्किटहरुमा सिधा उडान भर्ने र लुम्बिनीमा धार्मिक तथा अन्य पर्यटक बढाउने उद्देश्यले भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । त्यसैलाई देखेर ठूला होटेल, रेष्टुरेन्ट तथा पर्यटन क्षेत्रमा ५० अर्ब बढीको लगानी भएको व्यवसायीहरुको दाबी छ । तर, विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि केही व्यवसायीहरु विस्थापित भइसकेका छन् भने भएका होटेलमा मुस्कलले २५ प्रतिशत अकुपेन्सी छ ।

चितवनका व्यवसायी पनि पर्यटकको पर्खाइमा छन् । सौराहा, पटिहानी, जगतपुर, मेघौलीका व्यवसायी दसै सुरु भएपछि आन्तरिक पर्यटक आउलान् र थोरै भए पनि भरथेग होला भन्ने आशमा छन् ।

सौराहाको पर्यटनलाई पुरानै लयमा फर्काउने प्रयास छ । पछिल्लो समय आन्तरिक पर्यटकले धान्दै आएको सौराहाको पर्यटनमा स्तरीय होटेलसमेत बढ्दै गइरहेका छन् । 

चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि पर्यटकहरु आउने गरेका छन् । यस्तै पटिहानी, मेघौली क्षेत्रमा स्तरीय पर्यटकको संख्या जाँदा व्यवसायीमा उत्साह छाएको छ ।



Enter Kantipur TV HD
Advertisement