केबलकार विवादः ‘मुक्कुमलुङ पक्षधर’लाई पुनः वार्तामा बोलाइयो

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
केबलकार विवादः ‘मुक्कुमलुङ पक्षधर’लाई पुनः वार्तामा बोलाइयो

ताप्लेजुङ । गृह मन्त्रालयद्वारा गठित वार्ता समितिले ‘मुक्कुमलुङ पक्षधर’ लाई पुनः वार्तामा बोलाएको छ ।

वार्ता समितिका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेम प्रसाद भट्टराईले शुक्रबार ‘मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलिय संघर्ष समिति, ताप्लेजुङ, लाई सम्बोधन गर्दै पत्र पठाएका हुन् ।

वार्ताकालागि ताप्लेजुङका स्थानीय प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । पत्रमा पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता र संवादको माध्यमबाट समस्याको शान्तीपूर्ण समाधानकालागि सम्बन्धित सरोकारवाला आयोजना निर्माण पक्षसँग समेत समन्वय गरी माघ २२ गतेदेखि निरन्तर वार्ता भइरहेको स्मरण गराइएको छ ।

यसै सन्दर्भमा ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सास्कृतिक, तथा स्थानीय समुदायका स्थानीय मागका सम्बन्धमा स्थानीय सरोकारवाला सँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताकालागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु, पत्रमा भनिएको छ ।

आन्दोलनरत समूहले भने मन्त्रीस्तरीय वार्ता समिति निर्माण गरी आधिकारिक आव्हान पत्राचार गरिनुपर्ने, पक्राउ परेकाको रिहाइ, निर्माणकार्य बन्द, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपथ प्रहरी फिर्ता हुनुपर्ने माग यसअघि गरेका थिए । प्रहरीले ताप्लेजुङमा १८ जनालाई मुद्दा चलाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement