दोलखा । दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात हुने समयमा धेरै पर्यटक पुग्छन् । कालिञ्चोकको मुख्य पर्यटकीय सिजन पनि हिउँदलाई मानिन्छ । तर, बर्खाको यो मौसम कालिञ्चोक घुम्न पुग्नेहरुले थप रमणीय क्षेत्र अवलोकन गर्न पाउँछन् । यो ठाउँ असारदेखि भदौसम्म गर्मी छल्न उपयुक्त त छँदैछ त्यो भन्दा बढि यहाँको जैविक विविधता र हरियाली फाँटले निकै मनोरम बनेको हुन्छ ।
यो मौसममा तपाई चरिकोटबाट देउराली हुँदै कालिञ्चोक पुग्नु भएको छ भने निकै रमणीय यात्रा गर्न पाउनुहुन्छ । हरियाली जंगलको बीचबाट सुन्दर दृष्यसहित गर्मी छल्न यो मौसममा कालिञ्चोक घुम्दा फरक अनुभव गर्न पाइन्छ । साउन र भदौमा हरियो घाँसे मदानका फाँट, चुचुरा, पहाड फोडेर झर्ने झरनाले यतिखेर कालिञ्चोक क्षेत्र खुबै रमणीय बनेको हुन्छ ।
वर्षमा एक लाखभन्दा बढि पर्यटक पुग्ने यो क्षेत्रमा बर्खामा भने खासै चहलपहल हुँदैन । यतिबेला पर्यटक आवागमन हृवात्तै घट्ने हुनाले कालिञ्चोकमा सञ्चालित होटलहरु आंशिक रुपमा मात्रै खुलेका छन् । तर, यही बेला कालिञ्चोकले छिनछिनमै आफ्नो रुप फेर्ने गर्छ । हरिया घाँसे मैदानमा याक र चौंरी चरिरहेका दृष्यले अझ बढि मोहित पार्छ ।
हिमाली क्षेत्रका चराहरु तलतिर झरेका छन् । कालिञ्चोकका फाँटहरुमा धेरै रंगीचंगी फुल मगमगाइरहेका छन् । कहिले बादलको घुम्टो ओढेजस्तो देखिन्छ त कहिले झलल्ल घामले मनोरम देखिन्छ । अहिले मानिसको भिडभाड घटेपछि कालिञ्चोक बढि खुलेको छ । यतिखेर यहाँ अनेकौं जडिबुटी र लेकाली च्याउ खोज्नेहरु पनि फाट्टफुट्ट भेटिन्छन् ।