पर्यटकको रोजाइमा जुम्लाको गुठीचौर

असार ७, २०८१ |डीबी बुढा
पर्यटकको रोजाइमा जुम्लाको गुठीचौर

जुम्ला । जुम्लाको गुठीचौर उपत्यका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइ बन्न थालेको छ । सदरमुकाम खलंगादेखि डोल्पाको शे-फोक्सुण्डो जाने सडक गुठीचौर हुँदै जाने भएकोले पर्यटकलाई यो सुन्दर उपत्यकाले लोभ्याउँछ । 

वरिपरि हरिया डाँडा, चरनको लागि ल्याइएका गाईका बथान र गोठहरू । हावासँगै वेग हानेर यताउता गरिरहने घोडाको हूल र तिनका घाँटीमा बाँधिएको घण्टीको आवाज, घुम्न आएका मानिसको चहलपहलले हरियो घाँस र रंगिबिरंगी फूलले  सजिएको गुठीचौर अझै सुन्दर देखिन्छ अचेल । विशाल उपत्यका बिचैमा बग्ने खोला र त्यसको आसपासका सयौँ थरीका फूलले चित्त हरण गर्छन् । हिउँदमा हिउँले सेताम्मे हुने गुठीचौर बर्खामा यस्तै रंगिबिरंगी देखिन्छ । 

उपत्यका भित्रका सुन्दर पाटन, पाटनमा बनाइएका भेडी खर्क, भैँसी खर्क, गाई गोठ, आन्तरिक तथा बाह्यपर्यटकले टाँगेका पालले छुट्टै संसारमा पुगेको आभास दिन्छ । यो सिजनमा छिमेकी जिल्ला जाजरकोट र आसपासका गुठीगाउँ, कुडी, खल्लाबाडा, देपालगाउँलगायतबाट चरनका लागि ल्याइएका गाइवस्तु दृश्यले मानिस र प्रकृतिको साइनोलाई नजिक ल्याउाछ ।

गुठीचौरमा सरकारले भेडाबाख्रा अनुसन्धान केन्द्र स्थापना गरेको छ । गुठीचौर पुग्न सदरमुकाम खलंगाबाट करिब ३/४ घण्टा पूर्वतर्फ पैदल हिँड्नु पर्छ । तर अहिले डोल्पा जाने सडक गुठीचौर हुँदै जाने भएकाले यातायातको सुविधा छ । सदरमुकाम खलंगाबाट धिता, देपालगाउँ, गर्जायाङकोट हुँदै गुठीचौरको फाँट पुगिन्छ । गाडी वा मोटरसाइकलमा एक डेढ घण्टामै पुग्न सकिन्छ ।

पूर्व पट्टी गुठी चौर गाउँपालिका- २ को कोल्त्या गाउा छ । गाउँमा १ सय ३० घरधुरी छन् । फराकिलो पाटनका बीचबीचमा अस्थायी गोठहरु छन् । ती गोठमा गाई र भैासीको दूध, दही पाइन्छ ।

भेडापालनका लागि चर्चित गुठीचौरको सुन्दर ताले कसको मन लोभिादैन र ? गुठीचौरदेखि उत्तरतिरको लाक्ना डाँडा चढेपछि कान्जिरुवा हिमाल आँखै अगाडि देख्न सकिन्छ, भने जुम्लाकै पातारासी हिमश्रृङ्खला लमतन्न परेको देखिन्छ ।


Image

डीबी बुढा

बुढा कान्तिपुर टेलिभिजनका जुम्ला संवाददाता हुन् ।