यस्तो रह्यो काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्मको यात्रा !

सगरमाथा आधारशिविरमा आरोही र पथप्रदर्शकको चहलपहल
जेष्ठ २०, २०८१ |महेश केसी
यस्तो रह्यो काठमाडौंदेखि सगरमाथा आधार शिविरसम्मको यात्रा !

काठमाडौं । सगरमाथा आरोहणको पहिलो ढोका मानिने आधार शिविरमा यतिबेला आरोही र पथप्रदर्शकको चहलपहल छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मे २ को बिहानीमा हामी लुक्लाका लागि उड्यौं । लुक्लामा खाजा खाएर, अनेकन् देशका पर्यटक अनि उनका पदप्रदर्शक र भरियाको लर्कोमा हामी पनि मिसियौं ।

कोही संसारको उँचो शिर सगरमाथाको शिखर चुम्ने, कोही आधार शिविरबाट दृश्यावलोकन गर्ने अनि कोही चाहिँ कर्मले डोर्याएका भरिया र पदप्रदर्शक आदि धेरै मान्छेहरुको चहलपहलले दुधकोशीको तिरैतिरको यात्रा गज्जबको भयो ।

पहिलो दिनको हाम्रो बास मन्जोमा भयो । सगरमाथा भेट्ने जाँगरले होला न थकाई, न भोक । न प्यास, न निद्रा ।

दोस्रो दिन हामी हिलारी ब्रिज तरेर ३ हजार ४४० मिटर उचाइमा रहेको नाम्चे बजार पुग्यौं । यो बजार गज्जबको लाग्यो ।

तेस्रो दिन हामीले बिहानै पहिलोपल्ट सगरमाथा आरोहण गर्ने आरोही एडमन्ड हिलारीको आरोहण दलमा रहेका एकमात्र जीवित आरोही कान्छा शेर्पासँग उनकै घरमा पुगेर अन्तरंग गर्‍यौं । यस दिन हामी नाम्चेबाट स्याङ्बोचे पुगेर सगरमाथा नेस्टमा रमायौं । याक फार्म नियाल्यौं र एभरेस्ट भ्यु होटेलको बाटो भएर खुम्जुङमा बास बस्न पुग्यौं ।

चौथो दिन खुम्जुङबाट यात्रा सुरु भयो । ओरालो झरेर फुङ्गी टाडामा खाना खाईवरी उकालो चढेर तेङ्बोचे पुग्यौं । बाटोभरी फुलेका गुराँस र विभिन्न देशका पर्यटकसँग पाइला मिलाउँदै हिँड्दा कम्ता मजा आएन । यस दिन हामी तेङ्बोचेमा बास बस्यौं । 

तेङबोचेमा बिहानी प्रहरमा केही खुलेको आकाशले हिमाल देख्ने आशा जाग्यो । तर मौसम सोचेजस्तो भएन । हाम्रो यात्रा भने जारी थियो । ओरालो झरेर इम्जा नदीमाथिको पुल तरेपछि भने नांगा डाँडापाखाहरु देखिन थाले । विस्तारै हिमालको वास्तविक झल्को आउन थाल्यो ।

सोमारेमा खाना खाएर हिँड्नै आँटेका बेला हिउँ पो पर्न थाल्यो । यही हिउँसँग रमाउँदै हामी यस दिन बास बस्न ४४ सय मिटर उचाइमा रहेको दिङ्बोचे पुग्यौं ।

छैटौं दिन हामी शरीरलाई उचाइ अनुकूलित बनाउन दिङ्बोचेभन्दा माथि रहेको ५१ सय मिटर उचाइमा अवस्थित नाकारसङ पिकसम्म पुग्न सफल भयौं । यो पिकसम्म पुगेपछि हामीलाई कत्ति न सगरमाथै चढेको जस्तो भयो ।

कम उचाइबाट आएकालाई एकैचोटि धेरै उचाइमा जानुभन्दा पहिला यसरी शरीरलाई अनुकूलित बनाउनु जरुरी हुन्छ । यसकारण यो एक अभ्यास थियो । यस दिन पनि दिङ्बोचेमै बास बस्यौं ।

सातौं दिन बिहान उठ्दा दिङ्बोचे र आसपासमा हिउँ छपक्कै भएछ । हिमपातकै बीचबाट दिङ्बोचेबाट यात्रा सुरु भयो । विभिन्न देशबाट आएका पर्यटकको लहरोमा हामी पनि लामबद्ध भयौं । हिउँ परिरह्यो । यात्रा जारी रह्यो ।

थुक्ला पास पुगेपछि हिउँ पर्न त रोकियो तर यात्रा, रोकिएन । यस दिन हामी लोबुचे हुँदै यहीँ नजिकै रहेको पिरामिड अन्तर्राष्ट्रिय प्रयोगशाला तथा अवलोकन केन्द्रमा रहेको गेस्ट हाउसमा बास बस्यौं ।

आठौं दिन पनि मौसम प्रतिकूल । तर यही दिन हामी हाम्रो गन्तव्य सगरमाथा आधार शिविर पुग्नु थियो । पिरामिडबाट हिँडेपछि मौसममा केही सुधार आउने संकेत देखियो । वरिपरि हिमाल देखिन थाले । हामी उत्साहित भयौं । आधार शिविर पनि देखिएपछि उत्साह झनै बढ्यो । र गोरकसेप हुँदै हामी पुग्यौं सगरमाथा आधार शिविर ।

गोरकसेपमै साथीहरु छोडेर आधारशिविर अलि चाँडो पुगेको म आफ्नै तालमा रिर्पोटिङ र घुमघाममा व्यस्त भएँ । यहाँ करिब ५ घण्टाजति बिताएपछि यसदिन अलि अबेर हामी बास बस्न फेरि पिरामिडमै पुग्यौं ।

अब त फर्किने सुर भयो । नवौं दिन हामी फर्किने बेलामा पो मौसम खुल्यो र हिमाल देख्न पाइयो । यस दिन हामी पाङ्बोचेमा आएर बास बस्यौं ।

दशौं दिन पाङ्बोचेबाट यात्रा सुरु भयो । तेङ्बोचे पुगेपछि सगरमाथा र आसपासका हिमाल झलल... देखिए । हामी मख्ख पर्‍यौं । यसदिन हामी साबिककै बाटो भएर नाम्चे हुँदै मोन्जोमा बास बस्न आइपुग्यौं ।

११औं दिन मोन्जोबाट लुक्ला फर्कियौं । लुक्ला पुगेको साँझ एक सपना पूरा भएको उमंगले मन गदगद भयो । १२औं दिन बिहानै हामी लुक्लाबाट जहाज चढेर सकुशल काठमाडौं फर्कियौं ।


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।