अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ के ?

बहुमत गुमाएको स्पष्ट भइसक्दा पनि प्रधानमन्त्री दाहालको राजीनामा आएन
अल्पमतमा परिसक्नुभएका प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास
असार २१, २०८१ |दीपक आचार्य
अल्पमतका प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ के ?

काठमाडौं । नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा एमाले मिलिसकेको तथा संसद्‌मा आफ्नो बहुमत प्रस्ट रुपमा गुमिसकेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसद्‌मा बहुमत कायमै रहेको सिद्ध गर्न विश्वासको मत लिन लाग्नुभएको हो । तर कांग्रेस र एमाले विपक्षी कित्तामा उभिँदा उहाँले मत पाउने कुनै सम्भावना छैन । आफू अल्पमतमा परिसकेको स्पष्ट हुँदाहुँदै प्रधानमन्त्रीले किन विश्वासको मत लिने प्रयास गर्नुभएको हो त ?

अल्पमतमा परिसक्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा विश्वासको मत लिने तयारी थाल्नुको अर्थ के ? कांग्रेस-एमाले मिलेर नयाँ सरकार बनाउने सहमतिसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ ।

एमाले र कांग्रेस मिलिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिइहाल्ने अपेक्षा यी दुई दलले गरेका थिए । तर प्रधानमन्त्री दाहालले राजीनामा दिनुभएन । उल्टै संसद्‌मा अझै आफूमाथि विश्वास छ भनेर देखाउने प्रयास उहाँले थाल्नुभएको छ । प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रले आफ्ना अध्यक्षलाई कांग्रेस र एमालेबीचको सहमतिमा आशंका गर्दै संसद् फेस गर्न सुझाव दिएको हो ।

विश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्री दाहालसँग आफ्नो दल माओवादी केन्द्रका ३२ सांसद छन् । २१ सांसद भएको राष्ट्रिय स्वतन्त्र पार्टी र १० सांसद भएको नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भनेको छ ।

प्रधानमन्त्री दाहालको पक्षमा खुलेका यी दलको सांसद संख्या जम्मा ६३ हुन्छ । तर विश्वासको मत पाउन २७५ सदस्यीय प्रतिनिधिसभामा १३८ सिट आवश्यक पर्छ । यसअघि प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका ६ सांसद भएको जनमत र ४ सांसद रहेको नागरिक उन्मुक्तिले अब के गर्छन् भन्ने स्पष्ट छैन । यी सबैले विश्वासको मत दिए पनि पुग्दैन । यस्तो अवस्थामा विश्वासको मत पाउने कुनै आधार नभएकाले मार्गप्रशस्त गर्नुपर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाको भनाइ छ ।

अर्कोतिर अहिले बनेको गठबन्धमा कांग्रेसका ८८ र एमालेका ७९ सांसद जोड्दा नै १६७ हुन्छ । कांग्रेस-एमालेको गठबन्धनलाई लोसपाका ४, जसपाका ७ सांसदले समर्थन गर्ने निश्चितजस्तै छ । पाँच सांसद रहेको जसपा नेपालसमेत नयाँ गठबन्धनप्रति सकारात्मक छ । १४ सांसद भएको राप्रपाले पनि संविधान संशोधनका विषय स्पष्ट भएर आएमा नयाँ गठबन्धनलाई समर्थन गर्ने संकेत गरेको छ ।

प्रधानमन्त्री दाहाल भने संविधानको धारा ६८ को उपधारा २ अनुसार बनेको अहिलेको सरकारले विश्वास गुमाए उपधारा ३ अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन हुने भन्दै कांग्रेस-एमालेलाई अल्मल्याउन खोज्दै हुनुहुन्छ । तर संविधान संशोधन, सुशासन र समृद्धिको नारासहित समीकरण बनाएका कांग्रेस-एमालेको गठबन्धनमा सहजै दुईतिहाइ पुग्ने देखिन्छ । यसरी नयाँ समीकरण बनिसकेको अवस्थामा प्रधानमन्त्री दाहाल भने विश्वासको मत लिने भन्दै बालहठ देखाएर बस्नुभएको छ ।

हेर्नुहोस् दीपक आचार्यका थप स्टोरी ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।