पर्यटकीय पूर्वाधारमा लगानी बढाउन नसक्दा नेपाल टुरिजम डेभलपमेन्ट इन्डेक्सको पुछारमा

२०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य प्रभावित हुने निश्चित
जेष्ठ २७, २०८१ |भरत रावल
पर्यटकीय पूर्वाधारमा लगानी बढाउन नसक्दा नेपाल टुरिजम डेभलपमेन्ट इन्डेक्सको पुछारमा

काठमाडौं । सरकारले पर्यटकीय पूर्वाधारमा लगानी बढाउन नसक्दा नेपाल ट्राभल एन्ड टुरिजम डेभलपमेन्ट इन्डेक्समा पुछारमा परेको छ । वर्ल्ड इकोनोमिक फोरमले पर्यटकमैत्री वातावरण, पर्यटन नीति, पूर्वाधार लगायतलाई आधार मानेर सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १ सय १९ देशमध्ये १ सय पाँचौं स्थानमा परेको हो । यसले सन् २०३५ सम्म वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा ठेस लाग्ने देखिएको छ ।

सरकारले पर्यटकीय पूर्वाधारको विकास गर्न नसक्दा वर्ल्ड इकोनोमिक फोरमले हालै जारी गरेको ट्राभल एन्ड टुरिजम डेभलपमेन्ट इन्डेक्समा नेपाल १ सय ५औं स्थानमा परेको हो । जबकी उत्तरी छिमेकी चीन ८ औं र दक्षिणको छिमेकी भारत ३९ औं स्थानमा छन् । व्यावसायिक वातावरण, सुरक्षा, स्वास्थ्य र स्वच्छता, मूल्यमा प्रतिस्पर्धा, हवाई तथा स्थल पूर्वाधार, प्रदूषण र वातावरणीय अवस्था र श्रमिकको गुणस्तर जस्ता सूचकलाई आधार मानेर प्रतिवेदन सार्वजनिक गरिएको हो । यी क्षेत्रमा नेपालको अवस्था कमजोर देखिएको हो ।

सरकारले पर्यटनलाई आयआर्जनसाग जोड्ने भन्दै हरेक वर्ष प्राथमिकतामा राख्ने घोषणा गर्दै आएको छ । तर घोषणाअनुसार पूर्वाधारका काम हुन सकेको छैन । पोखरा र भैरहवा विमानस्थलसमेत पूर्ण रुपमा सञ्चालनमा आउन सकेका छैनन् । मुग्लिन-पोखरा र नारायणगढ-बुटवल सडक अस्तव्यस्त छन् । पदयात्राका लागि नेपाल आउने पर्यटकका लागि पर्यटकमैत्री पदमार्गको उचित विकास पनि हुन सकेको छैन ।

यस्तो अवस्थामा पनि सरकारले यो वर्ष १६ लाख पर्यटक भित्र्याउने भनेको छ । निजी क्षेत्रबाट पर्यटकीय पूर्वाधारमा केही प्रगति भए पनि सरकारी गति सुस्त हुादा पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न कठिन देखिएको छ ।

त्यसो त सरकारले दुई वर्षअघि नै पर्यटन दशक घोषणा गर्दै सन् २०३५ सम्म वाषिर्क ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने उल्लेख गरिएको थियो । तर दुई वर्षदेखिको बजेटमा सरकारले यसबारे केही उल्लेख गरेको छैन । 

घोषणाले उत्साहित निजी क्षेत्रले होटल, पर्यटकीय पारवहन जस्ता क्षेत्रमा २० खर्बभन्दा बढी लगानी गरिसकेको छ भने ३५ लाख पर्यटकलाई स्तरीय सेवा दिन सकिने दाबी गरेका छन् । तर सरकारले भने न लगानी बढाउन सकेको छ, न ठोस कार्यक्रम ल्याउन सकेको छ । यो अवस्थामा वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको प्रतिवेदनले नेपालको पर्यटक क्षेत्रलाई नै गम्भीर रुपमा सोच्न बाध्य बनाएको छ । 


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।