बेलायतमा १४ वर्षपछि लेबर पार्टीको सत्तारोहण

सत्तारुढ कन्जरभेटिभ पार्टीले लज्जास्पद हार
प्रधानमन्त्री बनेका केइर स्टार्मरलाई अर्थतन्त्र सुधारदेखि मानव तस्करी नियन्त्रणसम्म चुनौती
असार २१, २०८१ |प्रभात सिंह
बेलायतमा १४ वर्षपछि लेबर पार्टीको सत्तारोहण

काठमाडौं । बेलायतमा लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्किएको छ । हिजो सम्पन्न संसदीय निर्वाचनमा लेबर पार्टी ६५० सदस्यीय तल्लो सदन हाउस अफ कमन्समा ४१२ सिटमा विजयी भएको हो । सत्तारुढ कन्जरभेटिभ पार्टीले लज्जास्पद पराजय बेहोरेको छ ।

कन्जरभेटिभ पार्टीबाट प्रधानमन्त्री बनेका बोरिस जोन्सन र लिज ट्रसले गरेको गल्तीका कारण उक्त पार्टीले हार बेहोरेको विश्लेषण भइरहेको छ ।

लेबर पार्टीका नेता केइर स्टार्मर प्रधानमन्त्री बनेसँगै बेलायतमा कन्जरभेटिभ पार्टीको १४ वर्ष लामो शासनको पनि अन्त्य भएको छ । यसअघिको संसदीय निर्वाचनमा ३४६ सिट जितेको कन्जरभेटिभ पार्टीले यस पटकको निर्वाचनमा इतिहासकै नराम्रो पराजय भोग्न पुग्यो भने दुई सय सिट जितेको लेबर पार्टीले यसपटक ४१२ सिट जित्न सफल भयो ।

थलिएको अर्थतन्त्र, बढ्दो महँगी, अन्तरपार्टी द्वन्द्व, कोभिड-१९ का बेला अपनाइएका रणनीति तथा लिज ट्रसले करसम्बन्धी गरेको गल्तीका कारण कन्जरभेटिभ पार्टीले जनताको विश्वास गुमाएको विश्लेषण भइरहेको छ । यो निर्वाचनमा ऋषि सुनकका ३० सदस्यीय मन्त्रिपरिषद्का १४ जना हस्तीले पराजय भोग्नुपरेको छ । सुनकले आफ्नो दल कन्जरभेटिभ पार्टीको पराजय स्वीकार गर्नुभएको छ । उहाँले कमजोर प्रदर्शनका लागि पार्टीका सदस्यहरुसँग क्षमा माग्नुभएको छ ।

बेलायतमा आमनिर्वाचन : लेबर पार्टीको बहुमत, केइर स्टार्मर बन्नुभयो प्रधानमन्त्री

यता, लेबर पार्टीले अघि सारेको बढ्दो महँगी नियन्त्रण तथा सार्वजनिक सेवा सुधारमा लगानी गर्नेजस्ता नागरिक केन्द्रित योजना तथा स्थिर सरकार बनाउन गरेको वाचाका कारण अप्रत्याशित जित निकाल्न सफल भएको हो । जितपछि लेबर पार्टीका नेता किइर स्टार्मरले जनताले परिवर्तनका लागि लेब रलाई मतदान गरेको बताउनुभयो ।

यसपटक इतिहासकै बढी महिला सांसद संसद् प्रवेशको रेकर्ड पनि बनेको छ । सन् २०१९ मा २२० महिला सांसद निर्वाचित भएकामा यसपटक २४२ जना निर्वाचित भएका छन् । सबैभन्दा छोटो समय प्रधानमन्त्री बन्नुभएकी लिज ट्रस भने पराजित हुनुभएको छ । प्रधानमन्त्री किइर स्टार्मरलाई विश्वभरका नेताहरुले बधाइ दिएका छन् ।

हेर्नुहोस् प्रभात सिंहका थप स्टोरी ।


Image

प्रभात सिंह

सिंह कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।