प्रचारको पर्खाइमा ‘अपी हिमाल’

अपी हिमाल : पर्याप्त प्रचार र पूर्वाधारको अभावमा पर्यटकको रोजाइमा परेन
जेष्ठ ११, २०८१ |भरत रावल
प्रचारको पर्खाइमा ‘अपी हिमाल’

काठमाडौं । पूर्वको कञ्चनजङ्घाबाट सुरु हुने नेपालको हिम शृङ्खला सुदूरपश्चिमको अपी पुगेर सकिन्छ । यो ८ सय किलोमिटर लामो हिम शृङ्खलामा साना ठूला गरी २ हजारभन्दा बढी हिमाल छन् । तिनैमध्येको एक हो- अपी हिमाल । सुदूरपश्चिमको पनि पल्लो छेउमा रहेको यो हिमाल प्राकृतिक रूपमा सुन्दर हरे पनि पर्याप्त प्रचारप्रसार र आवश्यक पूर्वाधारको अभावमा पर्यटकको रोजाइमा पर्न सकेको छैन । 

गुराँस हिम शृङ्खला अन्तर्गतको ७ हजार १ सय ३२ मिटर अग्लो अपी हिमाल सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमाल हो । यो दार्चुला जिल्लाको अपी गाउँपालिकामा पर्छ । सन् १९६० मा जापानी आरोहीले पहिलो पटक यो हिमालको आरोहण गरेको भनिए पनि त्यहाँका स्थानीय र सरकारी अधिकारीहरू अहिलेसम्म सफल आरोहण नभएको बताउँछन् ।

यो सुन्दर हिमालले सुदूरपश्चिमको पर्यटनको ढोका खोल्न सक्ने भए पनि यसको सुन्दरता धेरैले थाहा पाएकै छैनन् । प्राकृतिक सुन्दरतासँगै फरक खानपान, कला र संस्कृतिले पर्यटकले यहाँ नयाँ अनुभव गर्न सक्छन् । त्यसमाथि आधार शिविरमा रहेको ५ किलोमिटर भन्दा चौडाइमा फैलिएको समथर फाँटमा फुलेका रंगीचंगी फूलले यहाँ पुग्ने जो कोहीलाई मोहित तुल्याउँछ । 

यो क्षेत्रमा केही समयअघिसम्म पर्यटकका लागि आवश्यक सामान्य पूर्वाधारसमेत थिएन । पछिल्लो समय स्थानीय तहले होमस्टे र स्थानीय गाइडको व्यवस्था गरेको छ । त्यस्तै पर्यटन विभागले १२ किलोमिटर लामो पदमार्ग निर्माण गरेको छ । पर्यटन बोर्डले पनि पूर्वाधार निर्माण गरिरहेको छ । तर, जति काम भएका छन्, पर्याप्त छैन ।

आवश्यक प्रचार हुन नसक्दा हिमाल आरोहणका लागि नेपाल आउने विदेशी आरोहीले सामान्य जानकारीसमेत पाउन सकेका छैनन् । यति मात्रै होइन, यस क्षेत्रमा रहेका ६ हजार मिटरमाथिका कैयौं हिमालको त नामकरणसमेत गर्न बाँकी छ ।

अपी क्षेत्रको पर्यटन प्रवर्द्धन भन्दै २०६७ सालमा अपी नाम्खा संरक्षण क्षेत्र घोषणा गरिए पनि त्यसअनुरुप काम हुन सकेको छैन । प्रकृतिले नेपाललाई निःशुल्क दिएको उपहार हो अपी हिमाल । पर्यटनसँग जोड्न सके यो हिमाल सुदूरपश्चिम प्रदेशसँगै सिंगो मुलुककै लागि आय आर्जनको माध्यम बन्न सक्दछ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement