हवाई र सडक दुर्घटनाको असर पर्यटन क्षेत्रमा, घटे विदेशी पर्यटक

भाद्र १७, २०८१ |भरत रावल
हवाई र सडक दुर्घटनाको असर पर्यटन क्षेत्रमा, घटे विदेशी पर्यटक

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटन भित्र्याउने घोषणा गरे पनि पछिल्ला दुई महिनामा भने पर्यटक आगमन घटेको छ । सडक र हवाई दुर्घटना बढेसँगै नेपाल आउने पर्यटकको संख्या घटेको नेपाल पर्यटन बोर्डको अनुमान छ । जुलाईमा ६४ हजार र अगस्टमा ७२ हजार मात्र पर्यटक नेपाल आएका छन् ।

सन् २०२४ को सुरुवातीसँगै नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । तर, पछिल्लो समय भएका दुई ठूला हवाई दुर्घटना र भारतीय पर्यटक सवार बस दुर्घटनाको असर पर्यटक आगमनमा परेको हो । सन् २०२४ को मार्चमा सन् २०१९ को सोही अवधिको तुलनामा १ प्रतिशतले पर्यटक आगमन बढेर हालसम्मकै उच्च १ लाख २८ हजार पुगेको थियो । 

पर्यटन आगमनले हौसिएर पर्यटन बोर्डले पनि सन् २०२४ मा पर्यटक आगमन १५ प्रतिशतले बढेर १३ लाख नाघ्ने अनुमान गरेको थियो । तर पछिल्लो समय देखिएको सुस्तताले सन् २०१९ कोे १२ लाख संख्या पुग्न पनि मुस्किल हुने देखिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभएको छ ।

यो वर्षमा जनवरीमा ७९ हजार, फेब्रुअरीमा ९७ हजार, मार्चमा १ लाख २८ हजार र अप्रिलमा १ लाख ११ हजार पर्यटक नेपाल भित्रिएका छन् । त्यसैगरी, मेमा ९० हजार, जुनमा ७६ हजार, जुलाईमा ६४ हजार र अगष्टमा ७२ हजार गरी ८ महिनामा ७ लाख २९ हजार पर्यटक नेपाल आएका छन् ।

सन् २०१९ को तुलनामा सन् २०२४ को जुलाईमा नेपाल आउने पर्यटकको संख्या ९ प्रतिशतले घटेको थियो भने अगस्टमा आएर २३ प्रतिशतभन्दा बढीले घटेको छ ।

अझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुनेछ । यसले पर्यटक आगमनमा थप असर पार्न सक्ने देखिएको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement