काठमाडौं । ८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजङ्घा विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा क्षेत्रदेखि हिमालसम्मको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जोकोहीलाई लोभ्याउँछ । तर, पूर्वाधार नहुँदा अन्य पर्यटकीय क्षेत्रको तुलनामा यहाँ निकै न्यूनमात्र पर्यटक पुग्ने गरेका छन् ।
ताप्लेजुङ जिल्लामा अवस्थित कञ्चनजङ्घाको पूर्वी सिमानामा भारतको सिक्किम र उत्तरमा तिब्बत पर्छ । यो विश्वकै तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल हो । कञ्चनजङ्घा क्षेत्रमा ७ हजार मिटरभन्दा अग्ला १६ वटा हिमाल छन् । कञ्चनजङ्घा हिमालका साथै यहाँ कञ्चनजङ्घा मध्य, कञ्चनजङ्घा दक्षिण, फक्ताङलुङ, यलुङकाङ, काङबाचेन, किरात चुली, जोङसाङ, गिमीगेला, डोमा, पाथीभराजस्ता हिमाल छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण कञ्चनजङ्घा आधार शिविर क्षेत्रका अनगिन्ती स्थानले यस क्षेत्रमा पुग्ने पर्यटकसँगै पथप्रदर्शकलाई पनि मोहित तुल्याउँछ ।
तर, यहाँ पर्यटकको आगमन भने निकै न्यून छ । काठमाडौंदेखि टाढा पर्ने र नजिकैको सुकेटार विमानस्थलको समेत भर नहुँदा पर्यटक कम पुग्न पुग्ने गरेका छन् । त्यति मात्रै होइन अन्य हिमालको तुलनामा यहाँ पूर्वाधार पनि अभाव छ । पर्यटन विभागले पछिल्ला वर्ष पदमार्ग र विश्राम स्थल निर्माणको काम गरिरहेको छ । तर काम निकै सुस्त छ ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकीय होटेल र सञ्चारको समेत राम्रो पहुँच छैन । प्रचारसँगै भौतिक पूर्वाधारको अवस्था निकै न्यून र सिधा हवाई उडान नहुँदा सगरमाथा र अन्नपूर्णको तुलनामा कम पर्यटक पुग्ने गरेका छन् । तैपनि यस क्षेत्रको पर्यटकीय महत्त्व उत्तिकै छ । ताप्लेजुङ सदरमुकामबाट कञ्चनजंघा आधारशिविरसम्म पुग्न तीन दिन लाग्छ ।
सन् १९५५ जुन २५ मा पहिलो पटक यो हिमाल सफल आरोहण गरिएको थियो । त्यसयताका झन्डै ७ दशकमा ५ सय ८० जनाले सफल आरोहण गरिसकेका छन् ।