सगरमाथा चढ्ने बोलिभियाका आदिवासी महिलाको सपना

चैत्र १७, २०८० |कान्तिपुर टीभी संवाददाता
सगरमाथा चढ्ने बोलिभियाका आदिवासी महिलाको सपना

काठमाडौं । साहसीहरुका लागि सधैं रहस्य र आकर्षणको केन्द्र हो- सर्वोच्च शिखर सगरमाथा । आरोहणमा रुचि हुनेहरुले जीवनमा कम्तिमा एकपटक सगरमाथाको शिखरमा उभिने सपना बोकेका हुन्छन् । त्यस्तै सपना बुनिरहेका छन्, दक्षिण अमेरिकी देश बोलिभियाका आदिवासी महिला ।

बोलिभियाका चारजना आदिवासी महिला परम्परागत पोसाकमै सगरमाथा आरोहणको तयारी गरिरहेका छन् । दक्षिण अमेरिकाका केही कठिन हिमालको आरोहण गरिसकेका उनीहरुले सगरमाथा आरोहणलाई लक्ष्य बनाएर अभ्यास गरिरहेका छन् ।

स्थानीय भाषामा ‘चोलिता’ भनिने पोसाकमै बोलिभियाकै ६ हजार ८८ मिटर अग्लो हुएना पोटोसी हिमाल आरोहण गरेकी ४० वर्षीया जुलिया क्विस्पे तिन्कुता हिमालको शिखर पुग्दा स्वर्गै पुगेको अनुभूति भएको सुनाउँछिन् । ‘पहिलोपटक शिखरमा पुग्दा मलाई हावामा उडेजस्तै लाग्यो, स्वर्गमै पुगेजस्तो । हिमालबाट मैले सहरका बत्ती देखें । जुन ताराजस्तै चम्किरहेका थिए ।

त्यसपछि मलाई आरोहण कहिल्यै छोड्दिनँ भन्ने लाग्यो,’ उनले भनिन् ।

आरोहणमा प्रयोग हुने आधुनिक सामग्री र पोसाक छाडेर यी महिला आफ्नै परम्परागत पोसाकमा आरोहण गर्न चाहन्छन् । यद्यपि टाउकोमा हेल्मेट र खुट्टामा हिउँमा लगाउने जुत्ता भने लगाउनैपर्छ ।

उनीहरुले अमेरिकी क्षेत्रकै अग्लो अर्जेन्टिनाको एकोनकागुआ हिमाल चढिसकेका छन्, जसको उचाइ ६ हजार ९ सय मिटर छ । संसारकै अग्लो ज्वालामुखी पहाड ‘देल सालादो’ पनि चढेको अनुभव उनीहरुसँग छ । अहिले उनीहरु विश्वशिखर सगरमाथा चढ्न अभ्यास गर्दै छन् र आर्थिक सहयोग पनि खोजिरहेका छन् । सबै कुरा मिल्यो भने उनीहरु सगरमाथा आरोहण गर्ने पहिलो बोलिभियाली महिला हुनेछन् ।

‘मलाई स्कर्टमा सगरमाथा चढ्ने पहिलो महिला हुनु छ । सगरमाथाको चुचुरोमा बोलिभियाको झन्डा फहराउनु छ । अनि, सगरमाथा क्षेत्रका शेर्पाहरुसँग पनि भेटेर अनुभव बाँड्नु छ,’ जुलिया भन्छिन् । बोलिभियाका यी महिला हिमाली क्षेत्रमै हुर्केका हुन् । पर्यटकलाई हिमाल आरोहणमा सघाइरहेका उनीहरुलाई अब आफ्नै लागि आरोहणको इतिहास कोर्नु छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement