बचेरा स्याहार्दै जलअप्सरा (फोटो फिचर)

भाद्र ३१, २०८० |मनोज पौडेल
बचेरा स्याहार्दै जलअप्सरा (फोटो फिचर)

कपिलवस्तु । जलअप्सरा । नाम सुन्नेबित्तिकै सबैले अर्थ लगाइहाल्छन्, यसको मोहनी रुप छ । प्रज्ञा प्रतिष्ठानको शब्दकोषमा अप्सराको अर्थ स्वर्गकी नर्तकी र परम सुन्दरी उल्लेख छ ।

त्यसैले सजिलै बुझ्न सकिन्छ यो चरा जलको अप्सरा हो । परी हो । यो निकै आकर्षक र मनमोहक देखिन्छ । हिँडाइ ‘क्याटवाक’ छ । पानीमाथि तैरिरहेका ठुल्ठूला पात-पातमा हिँड्छ । अंग्रेजीमा ‘पिजेन्ट टेल ज्याकाना’ भनिन्छ ।

स्वदेशी विदेशी फोटोपत्रकारलाई तस्बिरका लागि मोहनी लगाउने चरा जलअप्सरा अहिले कपिलवस्तुको जगदीशपुर तालमा बचेरा स्याहारिरहेका छन् । तालमा ५० भन्दा धेरै भालेले बचेरालाई साता/दश दिनदेखि आहारविहार गराइरहेका छन् ।

बचेरा स्याहारिरहेको दृष्य निकै मनमोहक देखिन्छ । पोथीले एकपटकमा ४ वटासम्म अन्डा पार्छ । यसले २६ देखि २८ दिनमा बच्चा कोरल्ने गर्छ । बचेरालाई लिएर हिँडिरहेको दृष्य निकै मनमोहक देखिन्छ । पानीमाथि बाक्लो र मजबुत सिँगाडा वा कमलको फूलको पातमा घाँस र झिँजाझिँजी बटुलेर भाले ओथारो बस्छ ।

‘सेतो, पहेंलो र खैंरो रङको राम्रै समिश्रण हुन्छ,’ चराविद् डा. हेमसागर बरालले भने, ‘त्यसैले यसलाई हेर्दा कलरफुल देखिन्छ ।’ सबै आनन्दित हुन्छन् । त्यसमाथि केही समयका लागि निस्कने प्रकृतिले दिएको उपहार पुच्छर जोडिँदा त मनमोहक लाग्ने उनी बताउँछन् ।

त्यसैले चरा मनपराउने स्वदेशी/विदेशी उत्तिकै छन् । बच्चा कोरल्ने समयमा भाले र पोथीका प्वाँखका रङ पनि हल्का फेरिन्छन् । ‘पुच्छर हल्लाउँदै विचरण गरेको दृष्यले त साँच्चैकै उमंग गराउँछ,’ चराविद् दिनेश गिरीले भने, ‘चरा प्रजातिमा जलअप्सराले प्रकृतिको वरदानै छ ।’

पानीमा पाइने चरामध्ये सबैभन्दा राम्रो । त्यही भएर तस्बिर खिच्न मरिहत्ते गरिन्छ । नेपालमै सबैभन्दा बढी यो चरा जगदीशपुर तालमा पाइन्छ । त्यही भएर हेरेर रोमाञ्चित हुनेदेखि तस्बिर लिनसम्मको रोजाइमा जगदीशपुर ताल पर्छ । अझ साउन, भदौदेखि यो ओथारो बस्न तयारी सुरु गर्ने हुँदा अझ राम्रो देखिन्छ ।

यस्तो सुन्दर चरा पोथीको मर्जी (आदेश) मा चल्छ । ओथारो भाले बस्छ । बचेरा कोरल्छ । स्याहारसुसार गर्छ । हुर्काउँछ । उडाउँछ । पोथी भने भाले फेर्दै रोमान्समा हिँड्छ । अन्डा कोरल्दासम्म भालेसँग बस्छ । प्रजननको समयमा यो चरा अझ मनमोहक देखिने सिकारी चरामा विद्यावारिधि गरेका डा. तुल्सी सुवेदीले जनाए । प्रकृतिले भाले र पोथीको पुच्छरमा ३/४ वटा लामा-लामा प्वाँख थपिदिन्छ । प्रजनन् समय सकिएपछि प्वाँख आफैं खस्छ । जलअप्सरा कतिपय ठाउँमा रैथाने चराका रुपमा छन् । कतिपय आगन्तुक चराका रूपमा बर्सेनि आउँछन् ।

राष्ट्रिय रूपमा संकटापन्न सूचीमा रहेको चरा नेपालमा ६ सयको हाराहारीमा रहेको अनुमान छ ।


Image

मनोज पौडेल

पौडेल कान्तिपुर टीभीका कपिलवस्तु संवाददाता हुन् ।