काठमाडौं । वर्षा तथा गर्मी बढेसँगै डेंगी संक्रमितहरूको संख्या बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जानकारहरूले आग्रह गरेका छन् । वर्षभरि नै डेंगी संक्रमितहरू देखिने गरे पनि अस्पतालहरूमा पछिल्लो २ सातायता फाट्टफुट्ट भर्ना नै गरेर उपचार गर्नुपर्ने बिरामी आउन थालेका छन् ।
टेकु अस्पतालका अनुसार जटिल समस्या नदेखिए पनि बिरामी अस्पताल आउने क्रम सुरु हुन थालेको छ ।
नेपालमा गत जनवरी अर्थात् माघ १९ गतेदेखि आजसम्म ६९ जिल्लाका ९५७ जनामा डेंगी संक्रमण देखिएको छ । सरकारी तथ्याङ्क अनुसार यो अवधिमा सबैभन्दा बढी बागमती प्रदेशमा २६७ जना, कोशीमा २१४ जना, गण्डकीमा १६३ जना, सुदूरपश्चिम प्रदेशमा १३७ जना, लुम्बिनीमा १३४ जना, कर्णालीमा २९ जना र मधेशमा १३ जनामा डेंगी संक्रमण देखिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अबको केहि हप्ता संक्रमण झनै बढ्न सक्ने भएकाले सतर्कता अप्नाउन आग्रह गरेको छ ।
गत वर्ष नेपालमा ४१ हजार ८ सय ६५ जनामा डेंगी संक्रमण देखिएको थियो । जसमा १५ जनाको मृत्यु नै भएको थियो । नेपालमा विगत ३ वर्ष यता संक्रमितको संख्या उच्च देखिइरहेको छ भने देशका ७७ वटै जिल्लामा संक्रमितहरू पाइएका छन् ।